भरतपुर, १० साउन ।
बेटर चितवनले चितवनका ८६ विपन्न परिवारलाई खाद्यान्न, तथा सरसफाई सामग्री सहयोग गरेको छ । संस्थाको साथी कार्यक्रम अन्तर्गत आइतबार पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ र १५ मा आर्थिक अवस्था कमजोर भएका ८६ परिवारलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको हो ।
रत्ननगर नगरपालिकासँगको समन्वयमा सम्बन्धित वडा कार्यालयसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा कोभिड १९ को कारण समस्यामा परेका र नियमित आर्थिक स्रोत नभएका परिवार एवम् बालबालिकालाई लक्षित गरि अत्यावश्यक खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक समुद्र भट्टराईले जानकारी दिए ।

कोभिडको संक्रमण दर विस्तारै बढेसँगै सुरक्षाको आवश्यक मापदण्ड अपनाएर आफू र बालबालिकालाई सुरक्षित राख्न संयोजक भट्टराईले अनुरोध समेत गरे ।
साथी कार्यक्रम अन्तर्गत यसअघि माडीका १४ परिवार र भरतपुरका ६८ परिवारहरुलाई सहयोग गरिएको पनि उनले जानकारी गराए ।
कार्यक्रममा रत्ननगर ५ मा वडा सदस्य भोलादेवी गौडेल र वडा नम्बर १५ का अध्यक्ष होमनाथ लामिछाने प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रमको सहजीकरण बेटर चितवनकोे तर्फबाट सदस्य रेनुका ढकाल र संयोजन समुद्र भट्टराईले गरेका थिए ।
संस्थाले बालबालिकालाई अत्यावश्यक मास्क, साबुन, सेनिटरी प्याड र आवश्यकता अनुसारको बाल पुस्तक, स्वास्थ्य परामर्श, स्वास्थ्य सामग्री, उपचार सहायता लगायतका सामग्री निःशुल्क प्रदान गर्दै आईरहेको छ ।
फ्लाईङ्ग एड नेपालको आर्थिक सहयोगमा, ह्युमन प्राक्टिस फाउण्डेसन र स्थानीय पालिकासँगको समन्वयमा चितवनका ७ वटै पालिकामा जोखिममा रहेका समुदायका बालबालिका र उनीहरुका परिवारलाई सहायता प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ ।





