भरतपुर, १० श्रावण ।
कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत चितवन जिल्लामा श्रावण १४ गतेदेखि जेन्सेन खोप वितरण गरिने भएको छ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनद्वारा उत्पादित सो खोप एक मात्र मात्रा लगाए पुग्ने खालको खोप यो । नेपालमा यसअघि प्रयोगमा ल्याइएका कोभिसिल्ड र भेरो सेल खोप दुई मात्रामा लगाउनुपर्ने खालका खोप हुन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जेन्सेन खोपका लक्षित वर्ग ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गको अपाङ्गता व्यक्ति तथा खोप अनिवार्य गरिएका मुलुकमा जान लागेका व्यक्तिहरू रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघिका खोप अभियानमा छुट्न पुगी हालसम्म कुनै पनि खोप नलगाएका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले बताए । खोप जिल्लाभरका वडामा रहेका स्वास्थ्य केन्द्रबाट लगाउन सकिने तिवारीले जानकारी दिए । कार्यालयका अनुसार हाल जिल्लामा ३६ हजार ५०० मात्रा जेन्सेन खोप आइपुगेको छ । जेन्सेन खोपको अभियानलाई कति दिनसम्म सञ्चालन गर्ने हो भन्ने बारेमा भने जिल्लाभित्रका स्थानीय पालिकाहरूसँग समन्वय गर्नुपर्ने कार्यालयले जनाएको छ ।
जोन्सन एण्ड जोन्सनको जेन्सेन खोप काठमाडौँ उपत्यकामा श्रावण ४ गतेदेखि सुरु गरिएको थियो । तर लक्षित समूहमा परेका नागरिक खोप लगाउन नआएपछि त्यहाँ १८ वर्षमाथिका सबैलाई सो खोप दिइएको थियो । खोपका बारेमा फैलिएका भ्रम र अफवाहलाई विश्वास नगर्न र निश्चिन्त भई खोप लगाउन स्वास्थ्य कार्यालयल चितवनका प्रमुख तिवारीले आग्रह गरे । अमेरिकाको औषधि नियामक निकाय फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले जेन्सेन खोप लगाएका व्यक्तिहरूमा स्नायु प्रणालीसम्बन्धी गीयान बार्रे सिन्ड्रमको जोखिम बढाउन सक्ने जानकारी दिएपछि खोपको विषयलाई लिएर भ्रम फैलिएका हुन् । एफडिएले सो समस्यालाई बिरलै देखिने स्वास्थ्य समस्या भनी वर्गीकरण पनि गरेको छ ।
“हाल सबै खोपलाई आपतकालीन अनुमति दिइएको हो । यस्तो बेला खोपको नकारात्मक भन्दा पनि सकारात्मक कुरालाई ग्रहण गर्नुपर्छ”, कार्यालयका प्रमुख तिवारीले बताए । खोपले गर्ने हानिको तुलनामा फाइदा धेरै भएको भनी बुझ्नुपर्ने उनको भनाइ थियो । “तपाईंले सेवन गर्ने हरेक औषधिका आआफ्नै साइड इफेक्ट हुन्छन् । इन्टरनेटमा फलानो औषधि सेवन गरेपछि देखिने स्वास्थ्य समस्या के हो भनी सर्च गर्न थाल्नुभयो भने तपाईंले औषधि लिन नै मान्नुहुने छैन”, तिवारीले सुनाए ।
हरेक खोपले कोरोना भाइरस विरुद्धको सुरक्षा प्रदान गर्ने भएकाले खास खोप मात्र लगाउँछु भनेर कुरेर नबस्न पनि तिवारीले आग्रह गरे । “कसैलाई म फलानो खोप मात्रै लगाउँछु भन्ने पनि हुनसक्छ । खोपको आयत सधैं सहज भइरहन्छ भन्ने पनि छैन”, उनले थप्दै भने, “त्यसैले तपाईंलाई जुन खोप उपलब्ध हुन्छ, त्यही नै लगाउनुपर्छ ।” महामारीको जोखिमलाई न्यूनीकरण गर्न खोप लगाएका/नलाएका सबैले जनस्वास्थ्यका मापदण्डको गम्भीरपूर्वक पालना गनुपर्ने तिवारीले बताए ।





