यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको साँचो

काठमाडौँ, १० साउन ।

आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरूले सरकारलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाएका छन् ।

कोरोना भाइरस विरुद्धको खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बुँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारीसाधनको साँचो बुझाएका हुन् ।

आइतबार दिउँसो माइतीघर मण्डलामा भेला भएका व्यवसायीहरूले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर प्रधानमन्त्री देउवासमक्ष पुर्‍याउने गरी सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनु परेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए । उनले आफूहरूको माग अब पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले पनि यातायात व्यवसायीहरूले आफ्ना माग सम्बोधन गर्न दबाब दिने गरी बुझाएको सार्वजनिक सवारीसाधनको साँचो गृह मन्त्रालयमार्फत् तत्काल प्रधानमन्त्री देउवालाई बुझाउने प्रतिबद्धता व्यक्त गरे । उनले कोभिड संकट बढेर जाने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि यातायात व्यवसायीहरूलाई आग्रह गरे ।

यातायात व्यवसायीहरुले गत असार २४ गतेदेखि आफूहरूको लागि खोपको व्यवस्था हुनुपर्ने, भाडा समायोजना गर्नुपर्ने, मौद्रिक नीतिमा व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने, यातायातको विमा, नवीकरण र जरीवानामा छुट गर्नुपर्ने, सडक कानुन तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका ७ बुँदे माग सम्बोधन गर्न आन्दोलन गर्दै आएका छन् । आफूहरूको माग अब पनि सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने उनीहरूको चेतावनी छ ।

(इकान्तिपुर डट कमबाट)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट