भरतपुर, ९ श्रावण ।
स्वास्थ्य कार्यालय चितवनले शनिबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २११ पुगेको छ । गत श्रावण २ गतेसम्म सो संख्या १८२ थियो । महामारी रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो हुँदै जाँदा नागरिक संयमित नभएपछि संक्रमित थपिने क्रम पनि फेरि बढ्न थालेको हो ।
हाल अस्पतालका आइसीयु कक्षमा ६५ जना, एचडीयू कक्षमा ५१ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ९५ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये १३ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा १००, चितवन मेडिकल कलेज (सीएमसी) अस्पतालमा ५९, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) अस्पतालमा १५ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि १४ जना संक्रमितले उपचार गराइरहेका छन् ।
अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ९४४ वटा शैया छुट्याइएका छन् ।
हाल जिल्लाभित्र भरतपुर महानगरपालिका (११ जना संक्रमित) र कालिका नगरपालिकाले (४ जना) सञ्चालन गरेको आइसोलेसन केन्द्रमा मात्रै संक्रमित छन् । अन्य स्थानीय तहका आइशोलेसन भने खालि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा १–१ जना संक्रमितको ज्यान गएको हो ।
मृतकमध्ये दुई जना चितवनका हुन् भने अन्य एक नवलपरासीका हुन् । यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट २७ जना डिस्चार्ज भएका छन् ।





