भरतपुर, ८ साउन ।
राप्ती नगरपालिकाकी सुजिता भण्डारीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । नाताले दाईपर्नेसँग सम्वन्धमा रहेकी सुजिता सामाजिक परिवन्दका कारण विवाह नहुने निष्कर्षमा पुगेपछि सुजिताले आत्महत्या गरेको प्रहरीको भनाई छ ।
सुजिताकी आमा अम्बिका भण्डारीले सुजिताको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको उजुरी प्रहरीमा दिएकी थिइन् ।
आफन्त पर्ने एक युवकको नाम तोकेर उनले आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी थिइन् । ‘मैले अस्ति नै उजुरी दिएकी हुँ । प्रहरीले आज शुक्रबार काठमाडौंबाट एक युवालाई पक्राउ गरेर भरतपुर ल्याउँदै छ भन्ने सुनेँ । छोरीले न्याय पाओस् । मेरो त यही नै हो,’ भण्डारीले भनिन् ।
चितवन प्रहरीले भण्डारीको उजुरीका आधारमा काठमाडौंबाट पक्राउ परेका युवालाई चितवन ल्याइसकेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका युवक नाताले सुजिताको दाइ पर्छन् ।
२० असारमा सुजिताको शव चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको थियो । सुरुमा उनका आफन्तले अपहरणपछि सुजिताको हत्या गरेको र प्रहरीले अनुसन्धानमा लापर्बाही गरेको गुनासो गरेका थिए ।
शव भेटिएपछि स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै राजमार्गसमेत अवरुद्ध पारेका थिए । ११ असारको बिहानदेखि हराएकी सुजिताको शव नौ दिनपछि फेला परेको थियो । प्रहरीले सुजिताको शव काठमाडौं ल्याएर पोस्टमार्टम गरेको थियो ।
पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण नखुलेपछि भिसेरा परीक्षण गरिएको छ । सुजिताको शवनजिकै विषादीको बोतलसमेत फेला परेको थियो ।





