भरतपुर, ८ साउन ।
बाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्वहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।
सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायतका राजस्व भुक्तानी आजदेखि अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो ।
बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ-वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताए । यसले ब्लुबुक नवीकरणलगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उनले बताए । महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने मन्त्री फुँयालको विश्वास छ ।
यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ ।





