खोप खरिदका लागि एडीबीले नेपाललाई दियो साढे १९ अर्ब ऋण

भरतपुर, ८ साउन ।
एशियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ ।

सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको बोर्ड बैठकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो ।

एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई यो ऋण दिन लागेको हो । एशिया प्यासिफिक क्षेत्रका देशमा खोपको पहुँच पुर्‍याउने एडीबीको कार्यक्रम छ ।

एडीबीले यस ऋणबाट १ करोड ५९ लाख डोज खोप किन्न पुग्ने अनुमान गरेको छ । अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास गरेको एडीबीद्वारा बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा अहिलेसम्म १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो डोज लगाएका छन् ।

यस्तै, १४ लाख ८० हजार २४६ जनाले भेरोसेलको पहिलो डोज र ६ लाख ८२ हजार ७९० जनाले दोस्रो डोज लगाएका छन् । स्वाथ्य मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ३८ हजार १४२ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट