भरतपुर, ८ साउन ।
टोक्यो ओलम्पिकअन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा ब्राजिलले जर्मनीविरुद्ध ४-२ गोलको जित निकालेको छ ।
ब्रालिजका रिचार्लिसनले ह्याट्रिक गरेपछि ब्राजिलले पहिलो हाफमै ३-० गोलको अग्रता बनाएको हो । रिचार्लिसनले पहिलो हाफको खेलको २९ मिनेटभित्र ह्याट्रिक पुरा गरेका थिए । उनले छैटौं, २१औं र २९औं मिनेटमा गोल गरेका थिए ।
पहिलो हाफको अन्तिममा पेनाल्टीको अवसर पाए पनि माथ्थिउस कुन्हाले बायाँ कुनामा प्रहार गरेको बल जर्मनीका गोलकिपर फ्लोरियन मुलबरले बचाएका थिए ।
खेलको ३५ औं मिनेटमा जर्मनीका म्याक्सवेल अर्नोल्डले रिचार्लिसनमाथि फउल गरेपछि उनलाई रेफ्रीले पहेलो कार्ड देखाएका थिए ।
दोस्रो हाफको ६२ औं मिनेटमा कप्तान अर्नोल्डले ब्राजिलका कप्तान डेनियल अल्वासलाई फउल गरेपछि उनले डबल यल्लो कार्ड पाएका थिए । त्यसपछि जर्मनी १० खेलाडीमा समेटिएको थियो ।
१० खेलाडीमा समेटिएको जर्मनीले पनि एक गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा रेग्नर एचएले गोल गरे भने त्यसअघि नदिम अमिरिले गोल गरेका थिए ।
पहिलो हाफमा ३–० ले अगि रहेको ब्राजिल दोस्रो हाफमा ३–२ को अवस्थामा पुगेको थियो । त्यसपछि स्टपेज समयमा ब्राजिलका पाउलिन्होले गोल गर्दै ब्राजिललाई ४–२ गोलको जित दिलाएका हुन् ।





