भरतपुर, ६ श्रावण ।
नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका ८ हजार ७१५ परीक्षणमा १ हजार ९१८ तथा एन्टिजेन विधिबाट गरिएका ३ हजार ९०१ परीक्षणमा ९२० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् । सोसँगै देशभर हालसम्म संक्रमणबाट निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ । यो संख्या कूल संक्रमितको करिब ९५ प्रतिशत हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्षसम्मको उमेर समूहका ४७९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, हालसम्म गरिएका पीसीआर परीक्षणको संख्या ३४ लाख ९५ हजार ६९ पुगेको छ । एन्टिजन विधिबाट गरिएका परीक्षणको हालसम्मको संख्या भने २ लाख ७४ हजार ८६२ रहेको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएका परीक्षणमा ६ लाख ७२ हजार ८७१ तथा एन्टिजेन विधिबाट गरिएका परीक्षणमा ५१ हजार ५८४ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३० जनाको मृत्यु पुष्टि भएको छ । सोसँगै नेपालमा कूल मृतकको संख्या ९ हजार ६३७ पुगेको छ । यो कूल संक्रमितको करिब १.५ प्रतिशत हो ।
देशभर भाइरसका सक्रिय संक्रमितको संख्या भने २६ हजार ८३२ रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा छन् भने बाँकी २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ३०१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १७१ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितको संख्या ६२७ रहेकोे छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ९९ जनाको भेन्टिलेटरमा तथा ३४० जनाको आइसीयुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार हालसम्म ३२ लाख ५१ हजार ९३१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । यस्तै पूर्ण मात्राको खोप लगाउनेको संख्या भने १२ लाख २४ हजार ४७८ रहेको छ । तीमध्ये ८१ हजार ३५२ जनाले जेन्सेन खोपको एक मात्र मात्रा लगाएका हुन् भने अन्यले कोभिसिल्ड र भेरो सेल खोपको दुवै मात्रा लगाएका हुन् ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चितवनका १६३, काठमाडौंका ४९०, ललितपुरका १२८ र भक्तपुरका ७९ जनामा संक्रमण पुष्टि भएको छ ।
वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा काभ्रेमा २५, नुवाकोटमा १५ र सिन्धुपाल्चोकमा १९ जना संक्रमित थपिएका छन् ।
सोही अवधिमा चितवनका छिमेकी जिल्लाहरू पर्सामा १, मकवानपुरमा ३५, धादिङमा १९, नवलपुरमा १९, नवलपरासीमा २, तनहुँमा ४७ र गोरखामा १० जना संक्रमित थपिएका छन् ।
यस्तै प्रदेश नं १ को झापामा १७०, मोरङमा २१ र सुनसरीमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं २ भरि जम्मा २६ जना संक्रमित थपिएका छन् ।
यस्तै गण्डकी प्रदेशको कास्कीमा १८५ जना नयाँ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीका ४१ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशभर ४४ तथा सुदूरपश्चिम प्रदेशभर ६१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित झापा, मोरङ, सुनसरी, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ ।





