भरतपुर, ६ साउन ।
विश्वभरका ५० हजारभन्दा बढी फोन नम्बरमा अवैध रूपमा प्रवेश गरेको पेगासस स्पाइसवेअरले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसहित विभिन्न देशका कूटनीतिज्ञ, पत्रकार, नेता र अभिन्यताहरूको फोन ह्याक गरेर सम्भावित निगरानी गरेको हुनसक्ने खुलासा भएको छ ।
इजरायलको एनएसओ ग्रुपले निर्माण गरेको पेगासस सफ्टवेरमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारका आलोचक र दिल्लीमा रहेका नेपाल, चीन र अफगानिस्तान, साउदी अरब र पाकिस्तानलगायत मुलुकका राजदूतहरूको समेत चार वर्षको अवधिमा फोन ट्यापिङ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको थियो । एनएसओले ५० हजारभन्दा बढी फोन नम्बर आफ्ना सेवाग्राहीहरूलाई प्रदान गरेको हुनसक्ने जनाइएको थियो ।
फ्रान्सेली पत्रिका मुण्डमाको सोमबार प्रकाशित समाचारमा लेखिएको छ, ‘पाकिस्तानी प्रधानमन्त्री इमरान खान र भारतका लागि उनका राजदूत सम्भावित निगरानीको सूचीमा छन् । दिल्लीमा रहेर काम गर्दै आएका अरु दर्जनौं राजदूत तथा कूटनीतिज्ञहरू पनि सो सूचीमा छन् । यसरी सम्भावित निगरानीको सूचीमा हुनेमा भारतका लागि इरान,अफगानिस्तान, चीन, नेपाल र साउदी अरेबियासहितका राजदूतहरू छन् ।’
जासुसी सफ्टवेयर पेगाससले फोन नम्बर प्रयोगकर्तालाई लिंक पठाउने गरेको र लिंक थिचिएलगत्तै आइओएस र एन्ड्रोइड फोनको डिभाइसबाट म्यासेज, फोटो, इमेल र टेलिफोन सम्बन्धी जानकारीमाथि नियन्त्रण राख्ने गरेको तथ्य बाहिरिएको थियो ।
एनएसओले भने आफूले कुनै पनि प्रकारको खराब काम नगरेको दाबी गरेको थियो । आपराधिक गतिविधि नियन्त्रणका लागि बनाइएको सफ्टवेयर सेना, प्रहरी र गुप्तचर निकायलाई मात्र उपलब्ध गराइएको एनएसओले जनाएको थियो । मावनअधिकार उल्लंघनका लागि सफ्टवेयरको प्रयोग नगरिएको दाबी उसको गरेको थियो ।





