भरतपुर ५ साउन ।
भरतपुरको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मलेशियाबाट नेपालीहरुले सहयोग गरेका छन् । मलेशियास्थित सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुले रंगशाला निर्माणका लागि ४ लाख ३ हजार २८८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशनको बैंक खातामा उक्त रकम पठाएका हुन् । रकम सहयोग सँगै रंगशालाको प्याराफिटको ३ वटा कुर्चीमा उक्त समूहमा नाम लेखिने भएको छ ।
रंगशाला निर्माण अभियानमा इट्टा थप्नका लागि आर्थिक सहयोग गरिएको उक्त कम्पनीमा कार्यरत नारायण परियारले बताए । कम्पनीमा कार्यरत नेपालीहरुबाट रकम संकलन गरेर फाउण्डेशनलाई आर्थिक सहयोग पठाएको उनले बताए ।
‘हाम्रै देशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्नु गर्वको बिषय हो, उनले भने, यो अभियान सफल बनाउन सबैले एक(एक इट्टा भए पनि सहयोग गर्नुपर्छ भनेर हामीले आफ्नो तर्फबाट जती सकिन्छ संकलन गरेर पठाएका हौं ।’ उनले सबैलाई रंगशाला निर्माण अभियानमा हातेमालो गर्न आग्रह पनि गरे ।
फाउण्डेशनले सहयोगका लागि सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुलाई धन्यवाद व्यक्त गरेको छ । रंगशालालाई आर्थिक सहयोग आवश्यक रहेको भन्दै फाउण्डेशनले सबैलाई सहयोगका लागि अपिल समेत गरेको छ ।
रंगशालाको अहिले ३५ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिँदा ५२ करोड रुपैयाँ खर्च भएको र १४ करोड रुपैयाँ ऋण रहेको छ । रंगशालाको दुई स्ट्यान्ड जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ भने टाइबिमको काम पनि २० प्रतिशत सकिएको छ ।





