भरतपुर ५ साउन ।
माध्यमिक तह उत्तीर्ण परीक्षा एसइइको नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना सुरु गरिसकेको अभिभावकहरुको गुनासो आएकोले एसइइको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको हो ।
नतिजा नै प्रकाशित नभइ विद्यार्थी भर्ना गर्न नपाइने भएपनि केही विद्यालयहरुले कक्षा ११ को भर्ना सञ्चालन गरेको भन्दै नगर शिक्षा समितिले निर्णय गरी नतिजापूर्व भर्ना लिएमा कानुन बमोजिम कारवाही गरिने समेत महाशाखाले जनाएको छ ।
नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल र नगर शिक्षा समिति सहितको टोलीले आज स्थलगत अनुगमन गरी केही विद्यालयहरुलाई स्पष्टीकरण समेत सोधेको छ । अनुगमनका क्रममा रजिष्ट्रेशन तथा सिट सुरक्षित गर्ने नाममा नतिजा अगाडि नै कक्षा ११ को भर्ना गरेको पाइएको हो ।





