शहीद चोक – धर्म चोक सडकको मर्मतमा कछुवा गतिको प्रगति

भरतपुर, ५ श्रावण ।

भरतपुर महानगरपालिकाको शहीद चोक–धर्म चोक–कचपचे चोक सडकको मर्मत थालिएको लगभग तीन वर्ष पूरा भएको छ । महानगरीय रिंग रोड तथा लिंक रोडको प्याकेज नं २ अन्तर्गत थालिएको सो सडकको मर्मतको कार्य २०७७ आषाढ मसान्तभित्रै सक्नुपर्ने थियो । तर ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गरिदिँदा तथा सरकारी निकायबीच समन्वय नहुँदा सडकको मर्मत कार्य कहिले सकिने हो भन्ने अन्यौल छाएको छ । जसकारण सो क्षेत्र बसोबास गर्ने स्थानीय एवं त्यस सडकको प्रयोग गर्ने यात्रु तथा चालकहरूले दिनहुँजसो सास्ती खेप्नुपरेको छ ।

“बाटो समयमा नबन्दा समस्यामाथि समस्या थपिएका छन् । बाटो जोतेर छाडेको छ । पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलो उड्छ”, धर्म चोकमा व्यवसाय गर्दै आएका वीर बहादुर न्यौपानेले आफ्नो पीर सुनाए । बाटोमा पानी जम्दा बजार नै अशोभनीय देखिएको र किनमेल गर्न आउने स्थानीयलाई पनि कठिनाइ पुगेको उनले सुनाए ।

सडक निर्माण गर्न दिइएको समयसीमाभरि काम नगर्ने तर आर्थिक वर्षको अन्त्यमा मात्रै विकास निर्माणमा सरकार तात्ने गरेकोप्रति पनि अटो चालक पूर्ण बहादुर श्रेष्ठले गुनासो राखे । “गुणस्तरीय काम गर्नुभन्दा पनि काम कसरी सकौं भन्ने गरेको देखिन्छ । सडक टिक्ने गरी बनाए राम्रो हुन्थ्यो । आज पीच गर्‍यो महिनापछि भत्किहाल्छ”, उनले भने । शहिद चोकदेखि धर्म चोक सडक खण्ड अन्तर्गत पर्ने लंकू खोलाको पुल भत्काएर नयाँ बनाउन लागिएको पनि करिब चार महिना बितिसकेको छ । पुल र सडकको काम पूरा नहुँदा यात्री तथा स्थानीयले लामो र घुमाउरो बाटो प्रयोग गरेर आवतजावत गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

स्थानीयहरूले सडकको कामलाई लिएर वडा कार्यालयमा गुनासो राख्न छाडेका छैनन् । भरतपुर महानगरपालिका वडा नं ४ कार्यालयले भने ठेकेदार कम्पनीले सडक निर्माणमा चासो नदेखाउँदा सडकको काम सम्पन्न हुन नसकेको बताउँदै आएको छ । “कामको ठेक्का भएको पनि चौथो वर्ष सुरु भइसक्यो । कम्पनीले काममा ठग्ने, ढिलो गर्ने र गतिलो नगर्ने गर्ने गरेको छ”, वडा नं ४ का अध्यक्ष हरिप्रसाद आचार्यले बताए ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालोपत्रे र ढल निर्माण कार्यको प्याकेज नं २ को ठेक्का सम्झौता २०७५ असार २६ गते रमन शिवशक्ति जेभीसँग भएको थियो । ठेकेदार कम्पनीले निर्माणमा जाँगर नदेखाएको थाहा हुँदा हुँदै पनि उसलाई कारबाही गर्न नसकिएको वडाध्यक्ष आचार्य बताउँछन् ।

“स्थानीयले बाटोका बारेमा गुनासो नगरेको दिन नै छैन । तर हाम्रो क्षेत्राधिकार नै साँघुरो छ । हामी वडाध्यक्षले सचेत गराएर ठेकेदार कम्पनीले सुन्दैनन्”, वडाध्यक्ष आचार्यले कायाकैरनलाई भने । स्थानीय तहमा रहेको पूर्वाधार निर्माण विकास समितिसँग ठेकेदार कम्पनीलाई सचेत गराउने तथा कारबाही गर्ने अधिकार हुने जानकारी दिए ।

आयोजनाको परामर्शदाता कार्यालय शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनका इञ्जिनियर कमलमणि खतिवडा ठेकेदार कम्पनीको ढिलासुस्ती तथा डिजाइनमा फेरबदल हुँदा काम ढिलो हुन गएको बताउँछन् । “पहिले सडकको दुवैतिर क्लोज्ड (ढकनी भएको) ड्रेन बनाउने डिजाइन भएको थियो । पछि एकतिर क्लोज्ड अर्काेतिर ओपन (खुल्ला) बनाउने भनेपछि काम प्रभावित हुन पुग्यो”, इञ्जिनियर खतिवडाले भने ।

डिभिजनले २०७७ पौष महिनासम्ममा शहीद चोक – धर्मचोक – कचपचे चोक सडकखण्डसँगै पूरै प्याकेजको काम सकिने अनुमान गरेको थियो । तर कोभिड–१९ महामारी तथा आयोजनाकाबीचमा विकसित भएका परिस्थितिका कारण काम पूरा हुन नसकेको खतिवडाले बताए ।

“महामारी र त्यसलाई नियन्त्रण गर्नका लागि लागू गरिएको बन्दाबन्दीले कामलाई त असर पुर्‍यायो नै, साथमा सरकारी निकायबीच समन्वय नहुँदा पनि काम रोकिन पुग्यो”, खतिवडाले थप्दै भने, “सडक मर्मत गरेका स्थानमा पछि आएर खानेपानी र दूरसञ्चारले पाइप बिछ्याउन खाडल खनिदिने जस्ता कार्यले पनि काम प्रभावित बन्न पुगे ।”

उता रुख कटानका लागि वन कार्यालयको अनुमति नमिल्दा प्रस्तावित महानगरीय चक्रपथको कार्य पनि रोकिएको इञ्जिनियर कमलमणि खतिवडाले बताए । सडकसीमामा पर्ने रुख लगायत संरचना हटाउनुपर्ने भएपनि वनले अनुमति दिन ढिलाइ गरिरहँदा रिंग रोडको काम पनि सुस्त ढंगले अघि बढेका उनले सुनाए ।

सघन सहरी विकास कार्यक्रमको प्याकेज नं २ अन्तर्गत पर्ने दियालो रोड र प्रचण्ड मार्गको काम भने लगभग आधा पूरा भएको उनले जानकारी दिए । शहीद चोक–धर्म चोक–कचपचे चोक सडक खण्डमा कचपचे चोकतर्फ भने पीचको काम पूरा भइसकेको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट