भरतपुर, ५ श्रावण ।
पछिल्लो २४ घण्टामा चितवनका थप १९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५४ जनामा पीसीआर तथा ३६ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।
कार्यालयले मंगलबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ८५३ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै ११६ वटा एन्टिजेन परिीक्षण भएका थिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा करिब १९।६१ प्रतिशत नमूनामा कोरोना पोजिटिभ पाइएको हो ।
यस्तै, चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल १ हजार ६४८ रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये १२३ जना अस्पतालको आइशोलेसनमा छन् भने १ हजार ५११ जना घरमै आइशोलेसनमा रहेका छन् । १४ जना संक्रमित भने स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।
थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या १८ हजार ६११ पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १३ हजार ३८२ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १२० जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १६ हजार ६४८ जना संक्रमितलाई निको भइसकेको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५ जना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । मृतकमध्ये दुई जना भरतपुर महानगरपालिकाका र अन्य तीन जना रत्ननगर, राप्ती र कालिका नगरपालिकाका भएको कार्यालयले जनाएको छ । सोसँगै जिल्लाभित्र हालसम्म संक्रमणका कारण ३१५ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २०२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
रत्ननगर नगरपालिकाका ३२ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका २० तथा राप्तीका २७ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका २०, माडी नगरपालिकाका ११ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।





