एक हप्तादेखि मन्दिरको बास

धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,४ भदौ ।

वि.सं.२०५० सालमा आएको बाढीले साविक भण्डारा गाविसको बेल्डियामा फूलमाया तामाङको परिवार विस्थापित भयो । बाढीपछि तामाङको परिवार सोही गाविसको चौकीडाँडामा सर्नुप¥यो ।
त्यहाँ केही समय उनीहरु बसे । त्यसपछि रोजीरोटीको उपाय सोच्दै भरतपुरतर्फ लागे र चिया पसल सञ्चालन गरे । यो बीचमा २०५९ सालको बाढीको सामना भने त्यो परिवारले गर्नुपरेन । भरतपुरमा पनि सोचेको जस्तो व्यवसाय नचलेपछि उनीहरु हाल खैरहनी नगरपालिका–१०, बडगाउँमा बसाइँ सरेका छन् । बसाइँ सरेर आएको करिब ६ वर्ष बित्न लाग्दा तामाङ परिवारले ठूलो बाढी सामना गर्नुप¥यो ।
यही साउन २८ गते राती ढुङग्रे खोलामा आएको भीषण बाढीले फूलमायाको घर पूर्णरुपमा नष्ट गरिदियो । त्यसपछि उनीहरुले सोही गाउँमा रहेको श्रीकृष्ण मन्दिरको एउटा कोठामा शरण लिएर बस्न वाध्य छन् । दुईपटकसम्म बाढीकै कारण विस्थापित हुनुपर्दाको पीडा पोख्दै फूलमाया भन्छिन्, “गरीब भएकै कारण यस्तो नियति भोग्नु पर्दोरहेछ । उनको परिवार करिब ६ वर्षपछि बडगाउँ आएर ऐलानी जग्गामा बस्दै आएका छन् । अर्काको जग्गा कमाई गरी जीवन गुजारा चलाउँदै आएका उनको परिवारमा ६ जना सदस्य छन् ।
उनका श्रीमान्, ३ छोरा र एक बुहारी छन् । खेतीबाट बिहानबेलुकाको छाक टार्न समस्या भएका उनीहरु कहिकतै काम पाएमा ज्यालामजदुरी गर्नसमेत जान्छन् । अर्काको जमिन कमाएर खाँदा कति नै स्वच्छ र फूलमायाले भनिन्, “कसैको रोजगारी छैन, जीवन धान्न धौ–धौ छ ।” दुःखनिमेक गरेर गुजारा चलाउँदै आएका उनीहरुको बाढीले घर नष्ट गरेको छ भने भाडावर्तन बगाएको छ । केही कपडा भने उनीहरुले जोगाए । बाढीले घर पूर्णरुपमा क्षति पुगेपछि ओत लाग्नका लागि कसरी जोहो गर्ने भन्ने उनीहरुमा चिन्तामा छ ।
“चुह्लोसमेत नरहने गरी घरमा क्षति पुग्यो”, आँखाबाट आँसु बगाउँदै फूलमाया भन्छिन्, “नुन तेल गर्न गाह्रो भएको बेला घर चुह्लोसमेत बाल्न नमिल्ने गरी भत्काइदियो ।” उनको घरमा ठूलो खाल्डो परेको छ । बाढीपछि तामाङको परिवार मन्दिरमै बसिरहेका छन् । खोलासँगै जोडिएको सो गाउँको अन्य दुई घरमा पनि क्षति पु¥याएको छ । स्थानीय दलबहादुर वाइबाको घर आधा भत्काइदिएको छ भने सुकबहादुर परियारको घरको बरन्डा बाढीले लगेको छ ।
दलबहादुर र सुकबहादुरको घरको बीचबाट बाढी पस्दा त्यहाँ ठूलो खाल्डो परेको छ । पानी परेको बेला बाँकी रहेको घरसमेत भत्काउने डरमा दलबहादुरको परिवार बस्न बाध्य छन् । “परेको पानी बाहिरै जाँदैन”, दलबहादुरले भने, “डरैडरमा बस्नुपरेको छ ।” बाढी आएको दिनदेखि ३ दिन छिमेकको घरमा बास बसेका उनको परिवार अहिले त्यही धराप अवस्थामै रहेको घरमा बसिरहेका छन् । बाढी आउँदा सो गाउँका स्थानीय भागेर ज्यान जोगाउन सफल भएका थिए । बाढीपछि तत्कालै खैरहनी नगरपालिकाले राहत वितरण गरेको थियो । प्रत्येक व्यक्ति ५ किलो चामलसहित खाद्यान्न, तन्ना र म्याट सहयोग गरिएको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिए । सो बस्तीमा २१ घरधुरी छन् । त्यहाँका सबै ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट