क्यानडाले चर्काे गर्मीसँगै डढेलोको सामना गर्दै

भरतपुर, २० असार ।

क्यानडाको पश्चिमी क्षेत्रमा चट्याङ पर्दा १ सय ३० भन्दा बढी क्षेत्रमा डढेलो सल्किएको छ । क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा एक सातायता निकै चर्को गर्मी भइरहेको थियो ।

क्यानडाको संघीय सरकारले डढेलो नियन्त्रण र आकस्मिक सेवाका लागि ब्रिटिस कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ । यसै साताको सुरुमा उक्त प्रदेशको लिटन गाउँका मानिसहरू चर्को गर्मी र तातो हावाका कारण विस्थापित भएका थिए ।

लिटनमा गत मंगलबार क्यानडाको हालसम्मकै सर्वाधिक उच्च तापक्रम ४९.६ डिग्री सेल्सियस मापन गरिएको थियो । पछि उक्त गाउँ आगलागीले ध्वस्त भयो । चर्को गर्मीका कारण सो क्षेत्रमा करिब २ सय ५० जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । प्रभावित सहर भ्यान्कोभर सहरबाट २ सय ६० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ ।

“करिब १५ मिनेटको अवधिमा पूरै शहर आगोको लप्काले घेरियो”, मेयर ज्यान पोल्डरम्यानले भने । शुक्रबार ब्रिटिस कोलम्बियाको डढेलो नियन्त्रण सेवासम्बन्धी निकायले प्रदेशभरि १ सय ३६ वटा डढेलो सक्रिय अवस्थामा रहेको बताएको थियो ।

निकायका अनुसार १२ हजार वटा चट्याङका घटना रेकर्ड गरिएको छ । निकायका प्रादेशिक सञ्चालन निर्देशक क्लिफ च्यापम्यानका अनुसार तीमध्ये धेरै चट्याङहरू समुदाय वरपर खसेका थिए । उनले सयौँ घरपरिवारलाई घर छाडेर सुरक्षित स्थानमा जान सचेत गराइएको बताएका छन् । क्यानडाका रक्षामन्त्री हरजित सज्जनले सरकारले आगलागी पीडितको सहायताका लागि सैन्य हेलिकप्टर र आवश्यक अन्य सामग्रीहरू पठाउने बताएका छन् ।

आगलागी फैलिए पछि त्यस क्षेत्रका राजमार्गहरू बन्द भएका छन् । जनसुरक्षा मन्त्री बिल ब्लेयरले मौसम र डढेलोले ब्रिटिस कोलम्बियामा ‘विध्वंसकारी र अप्रत्याशित’ असर पारेको बताए ।

चिकित्सा परीक्षण कार्यालयले गत साता अप्रत्याशित रूपमा ७ सय १९ जनाको मृत्यु हुनुमा चर्को गर्मी र तातो हावाको असर प्रमुख भएको जनाएको छ । मृतकहरूको सो संख्या विगतका वर्षहरूको तुलनामा तीनगुणा बढी भएको अधिकारीहरूले जनाएका छन् ।

“गत साता मृत्यु भएकामा धेरैजसो कम भेन्टिलेसनयुक्त निजी घरमा एक्लै बस्ने ज्येष्ठ नागरिकहरू छन्”, कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । क्यानडाको तटीय क्षेत्रमा तापक्रममा बिस्तारै कमी आइरहेको जनाइएको छ ।

(रोयटर्सको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट