काठमाडौं, २० असार ।
सरकारले बाढी, पहिरोजस्ता मनसुनजन्य विपत्का कारण पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु भएको बताएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ जना बेपत्ता र ४६ जना घाइते भएको जानकारी दिएका छन् ।
वर्षाजन्य विपत्का कारण सो अवधिमा २२६ वटा घटना भएको उनको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले विपत्बाट असार १६ गतेसम्म विभिन्न जिल्लामा आंशिक र पूर्ण क्षति भएका ५७२ घर परिवारलाई अस्थायी बसोबास व्यवस्थाका लागि प्रति परिवार ५० हजार रुपैयाँ पठाएको पनि जानकारी दिएका छन् ।
हालसम्म बाढी तथा पहिरोबाट सिन्धुपाल्चोक, मनाङ, लम्जुङ, कास्की, गोरखा, अर्घाखाँची, खोटाङ, तनहुँ, सर्लाही लगायतका जिल्लामा ५०५ निजी घर पूर्ण क्षति भएको र ११२ घरमा आंशिक क्षति भएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए । असार १९ गते सुनसरीमा थला खोला, ट्याङ्ग्रा खोला, बुढी खोला, केशलिया खोला र धनुष खोलामा आएकोे बाढीले २०० घर डुबाएको उनले जनाएका छन् ।
त्यस्तै बाढी पहिरो र डुवानका कारण ३६ सरकारी कार्यालय भवन, ९ वटा विद्यालय भवनमा पनि क्षति पुगेको छ । सिन्धुपाल्चोकमा ७, मनाङमा २, चितवनमा २, तनहुँ, मोरङ, उदयपुर र सिराहामा १(१ वटा गरी कूल १५ वटा पक्की पुलमा क्षति भएको छ ।
त्यस्तै मनाङमा ५ वटा मोटरेबल काठेपुल, सिन्धुपाल्चोकमा १४, मनाङमा ७ र गोरखा र तनहुँ जोड्ने एउटा गरी २३ वटा झोलुङ्गे पुलमा क्षति भएको पनि गृह मन्त्रालयले जनाएको छ ।
(इकान्तिपुर डट कमको सहयोगमा)





