भरतपुर, २० असार ।
पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा ४ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार भरतपुर अस्पतालमा ३ तथा चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना संक्रमितले ज्यान गुमाएका हुन् ।
मृतकहरूमध्ये दुई जना चितवनका हुन् भने अन्य १–१ जना नवलपुर र नवलपरासी जिल्लाका भएको कार्यालयले जनाएको छ ।
यस्तै, स्वास्थ्य कार्यालयले जनाएअनुसार जिल्लाका अस्पताल तथा संस्थागत आइशोलेसनमा हाल १९३ जना संक्रमित राखिएका छन् ।
हाल अस्पतालका आइसीयु कक्षमा ६४ जना, एचडीयू कक्षमा ४३ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ८६ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये १९ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा ७४, चितवन मेडिकल कलेज (सीएमसी)मा ५७, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस)मा ८ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि ७ जना संक्रमितले उपचार गराइरहेका छन् ।
अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ९४४ वटा शैया छुट्याइएका छन् ।
हाल राप्ती नगरपालिकाले सञ्चालन गरिरहेको आइशोलेसन केन्द्रमा संक्रमित छैनन् । जिल्लाका अन्य ६ वटा स्थानीय तहले सञ्चालन गरिरहेको आइशोलेसन केन्द्रमा ३७ जना संक्रमित राखिएका छन् । माडी आइशोलेसन केन्द्रमा ४ जना, खैरहनी केन्द्रमा ८ जना, भरतपुरमा १९ जना तथा कालिका केन्द्रमा २ जना संक्रमित राखिएका छन् । यस्तै रत्ननगर नगरपालिकामा २ तथा इच्छाकामना गाउँपालिकाको आइशोलेसनमा २ जना संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा २८ जना संक्रमणमुक्त भई आइशोलेसन केन्द्र तथा अस्पतालबाट घर फर्किएका स्वास्थ्य कार्यालयले जनाएको छ ।





