भरतपुर, ३१ जेठ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार १४७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । सोसँगै देशभर हालसम्म ५ लाख ३६ हजार २५२ जनालाई निको भएको हो । यो संख्या कूल संक्रमितको करिब ८८ प्रतिशत हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका ९ हजार ४३८ परीक्षणमा २ हजार ४९ तथा एन्टिजेन विधिबाट गरिएका ५ हजार ३८१ परीक्षणमा ८६९ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३२ लाख २४ हजार १६३ वटा पीसीआर परीक्षण भएका छन् । यस्तै, एन्टिजन परीक्षणको कूल संख्या भने १ लाख १३ हजार २१० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्षसम्मको उमेर समूहका ४५४ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १० हजार ५२१ तथा एन्टिजेन विधिबाट गरिएका परीक्षणमा २१ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५३ जनाको मृत्यु पुष्टि भएको छ । सोसँगै नेपालमा कूल मृतकको संख्या ८ हजार ४६५ पुगेको छ ।
देशभर भाइरसका सक्रिय संक्रमितको संख्या भने ६५ हजार ८०४ रहेको छ । हाल सक्रिय संक्रमितमध्ये ६१ हजार १२२ जना होम आइसोलेसनमा छन् भने बाँकी ४ हजार ६८२ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ५३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३२४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितको संख्या ९९५ मा झरेको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २०५ जनाले भेन्टिलेटरमा तथा ५७४ जना संक्रमित भने सघन उपचार कक्षमा छन् ।
यस्तै, सोमबार साँझसम्म देशभर कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएकाको संख्या २४ लाख २२ हजार ३७६ रहेको छ । तीमध्ये ६ लाख ९१ हजार ४९४ जनाले दोस्रो मात्राको समेत खोप पाइसकेका छन् । हाल नेपालमा कोभिसिल्ड र भेरोसेल गरी दुई खालका खोपको प्रयोगका लागि अनुमति दिइएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९६, ललितपुरमा १४५, भक्तपुरमा ६६ तथा चितवनमा १०८ जना नयाँ संक्रमित थपिएका छन् । वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा काभ्रेमा ८४, धादिङमा २८, नुवाकोटमा ८५, मकवानपुरमा ५२, सिन्धुपाल्चोकमा २२ तथा दोलखामा ३४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा चितवनका अन्य छिमेकी जिल्लाहरू पर्सामा १०, नवलपुरमा ५०, नवलपरासीमा ८, तनहुँमा ६ र गोरखामा ३१ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार प्रदेश नं १ का झापा, मोरङ र सुनसरी जिल्लामा क्रमशः १६०, ११५ र १०६ जना संक्रमित थपिएका छन् । प्रदेश नं २ मा सबैभन्दा धेरै धनुषामा ४० जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कास्कीमा ८१ जना संक्रमित थपिएका छन् ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीमा ५६ जना, कर्णाली प्रदेशको जुम्लामा १४ जना र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै अछाममा २३ जना संक्रमित थपिएका छन् ।
हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित चितवन, बाँके, रुपन्देही, लगायत विभिन्न ४३ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।





