चितवनका अस्पताल र आइशोलेसन सेन्टरमा संक्रमितको संख्या घट्दै

भरतपुर, ३१ जेठ ।

जिल्लामा हाल विभिन्न अस्पताल तथा स्थानीय सरकारले निर्माण गरेको आइशोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितको संख्या २८६ मा झरेको छ । आइतबार साँझसम्म सो संख्या २९३ थियो । तीमध्ये १४७ जना चितवनका हुन् भने बाँकी अन्य जिल्लाबाट उपचारका लागि यहाँ ल्याइएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले सोमबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार हाल जिल्लाभर संक्रमितको उपचारका लागि ९६२ वटा शय्या छुट्याइएका छन् । जिल्लास्थित अस्पतालहरूमा हाल १०७ जना आइसीयु, ३७ जना एचडीयू तथा १४३ जना जेनरल बेडमा उपचाररत छन् । आइसीयुमा रहेकामध्ये ३७ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा १०३, चितवन मेडिकल कलेज (सीएमसी)मा ६१, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस)मा ३५ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ११ जना संक्रमितको उपचार भइरहेको छ । पुष्पाञ्जली, नारायणी सामुदायिक र भरतपुर सेन्ट्रल अस्पतालमा पनि २३ जना संक्रमितले उपचार गराइरहेका छन् ।

भरतपुर अस्पतालले कोभिड उपचारका लागि १९०, सीएमसी अस्पतालले २६७, सीएमएस अस्पतलाले २०० तथा क्यान्सर अस्पतालले १४२ वटा बेड छुट्याएका छन् । रत्ननगरको गुञ्जमान सिंह अस्पतलाले पनि कोभिड बिरामीका लागि १० वटा शय्या छुट्याएको छ ।

भरतपुर महानगरपालिकाले ५० बेड, रत्ननगरले २८ बेड, राप्तीले २० बेड र कालिकाले १२ बेडको आइशोलेसन सेन्टर सञ्चालन गरेका छन् । ती सबैमा शय्यामा अक्सिजनको पनि व्यवस्था गरिएको छ । यस्तै, माडीले ५ ओटा अक्सिजन सहित १० बेड क्षमताको आइशोलेसन सञ्चालनमा ल्याएको छ ।

खैरहनीले सञ्चालनमा ल्याएको १५ शय्याको आइशोलेसनमा ११ शय्यामा अक्सिजन समेत उपलब्ध गराइएको छ । यस्तै इच्छाकामना गाउँपालिकाले पनि १० वटा अक्सिजन सहितको २५ बेडको आइशोलेसन सेन्टर स्थापना गरेको छ । माडी नगरपालिकाले बघौडा अस्पताल, रत्ननगरले बकुल्हर अस्पताल तथा कालिका र राप्तीले भण्डारा अस्पतालमा आइशोलेसन निर्माण गरेका हुन् ।

हाल रत्ननगरको आइशोलेसन १ जना, माडी आइशोलेसन केन्द्रमा ४ जना, खैरहनी केन्द्रमा ६ जना तथा भरतपुरमा २५ जना संक्रमित राखिएका छन् । यस्तै, इच्छाकामना तथा कालिका केन्द्रमा ८–८ जना संक्रमित राखिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै सोही अवधिमा अस्पताल तथा आइशोलेसन सेन्टरबाट २७ जना संक्रमित निको भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा भरतपुर अस्पताल र चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा १–१ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको हो । मृतकहरू रामेछाप र जाजरकोट जिल्लाका रहेको कार्यालयले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट