चियावाला फणीन्द्र

भरतपुर, २९ चैत ।
चिया पिउनुभयो ? कुन चिया पिउनुभयो ? सामान्यतया बिहान कालो चिया वा कसैकसैले दूधको चिया । कालोमा पनि कागती हालेको ‘लेमन टी’ होला । तर, तीबाहेकका चिया कत्तिको चाख्नुभएको छ ? सामान्यतया छैन होला ।
विविधखाले चिया पारखीहरूका लागि भरतपुरमा भर्खरै खुलेका पसल हुन्– चिया दानी र चिया पोइन्ट । त्यहाँ अनेकथरिका चिया पिउन पाइन्छन् । यो सम्भव बनाएका हुन् फणीन्द्र न्यौपानेले ।

चियादानी सप्तगण्डकी क्याम्पस नजिकै छ भने चिया पोइन्ट जिल्ला समन्वय समिति कार्यालयको छेवैमा छ । यी दुबै पसलमा हिजोआज बाक्लो संख्यामा चिया पारखीहरू आउँछन् र गफ गर्दै चिया पिउँछन् । ती दुबै पसलमा भिन्न सजावट छन् ।
भरतपुर निवासी फणीन्द्र न्यौपाने चिया व्यवसायमार्फत भरतपुरलाई ‘चिया हब’ बनाउने योजनामा तल्लिन छन् ।
२०७० सालतिर आइटी पढ्दै गर्दा फणीन्द्रलाई फरक खालको व्यवसाय गरेर अघि बढ्ने सोच आयो । त्यतिबेला उनी सेन्ट्रल पाम होटलका जागिरे थिए । होटलको जागिरले उनलाई धेरै कुरा सिकायो । ग्राहकसँगको सोझो सम्पर्क, ग्राहकका रुचि इत्यादिले फणीन्द्रलाई ग्राहकसँग अझै नजिक बनेर व्यवसाय गर्ने इच्छा जाग्यो । “तत्कालका लागि त्यो मेरो जागिर थियो”, उनले भने, “तर, ग्राहकलाई चिन्ने राम्रो अवसर पनि बन्यो ।”
उनी केही गर्न चाहन्थे । आफ्ना साथीभाइसँग कुराकानी हुँदा चिया व्यवसाय उपयुक्त हुने सुझाव दिए । त्यसपछि उनी त्यसैमा अघि बढे ।

चियादानी उनको पहिलो चिया केन्द्र हो । त्यहाँ फणीन्द्रका साझेदार सुवास शर्मा पौडेल छन् । दुई जना मिलेर सञ्चालन गरेको चियादानी सप्तगण्डकी क्याम्पस नजिकै छ । चियादानीलाई उनले गत वर्ष फागुनमा सञ्चालनमा ल्याएका हुन् । सञ्चालनमा ल्याएको केही हप्तामै कोरोना महामारीका कारण व्यवसाय बन्द भयो । कोरोनाको प्रकोप सामान्य बन्न थालेपछि पुनः खुलेको चियादानीमा हिजोआज चहलपहल बाक्लिन थालेको छ ।

चियादानी चिया पसल मात्रै होइन । यो फरकखाले चिया पसल हो । यहाँ माटोको भाँडामा चिया खुवाइन्छ । यसलाई मट्का भनिन्छ । सिसा अथवा स्टिलको गिलासमा चिया खाने बानी परेकाहरूलाई माटोको भाँडामा चिया पिउँदा छुट्टै मजा हुने विश्वास सञ्चालक फणीन्द्रसँग थियो । अहिले सबैले मन पराउँदा मख्ख छन् । “मट्का धेरैले मन पराउनुभएको छ”, उनले भने, “यो नै ब्राण्ड बनेको छ ।”
६० र १५० मिलिलिटरका दुई खाले कपमा चिया खुवाइन्छ । सानो कपको ३५ र ठूलोको ७० रुपैयाँ पर्छ । देशका विभिन्न जिल्लामा उत्पादन हुने चिया मसला प्रयोग गरेर यहाँ चिया बनाइन्छ । ग्राहकले आफ्नो रोजाइको चिया पिउन पाउँछन् । चियादानीमा ३० थरिका चिया पिउन पाइने उनले बताए । “सामान्यतया चिया भनेपछि चिनी र चियापत्ती हालेर मात्रै खाने आमचलन छ”, उनले भने, “हामीले त्यसलाई तोडेर चियामा पनि भेराइटी हुन्छन् भन्ने देखाएका हौँ ।”

चियादानीमा बस्नको लागि पनि छुट्टै खालको व्यवस्थापन छ । पुराना टायरलाई रङरोगन गरेर चिटिक्क पारी बस्ने ठाउँ बनाइएको छ । स्थानीयस्तरमा बनेका मुडा पनि यहीँ छन् । काउन्टरमा पुरानो विक्रम टेम्पोाई चिटिक्क पारेर राखिएको छ । ग्राहकले टेम्पोभित्र बसेर चिया पिउन सक्छन् । अर्को रमाइलो के छ भने चिया पिइसकेपछि पैसा तिर्ने काउन्टर टेम्पोको क्याबिनलाई बनाइएको छ । चालक बस्ने सिटमा पसलका साहुजी बसेर ग्राहकसँग पैसा लिन्छन् ।
ग्राहकलाई यो विशेषताले थप आकर्षित गरेको छ । केही समय अघिसम्म विक्रम टेम्पो स्थानीय यातायातको प्रमुख साधन थियो । अहिले म्याजिक र अटोले सेवा दिन थालेपछि टेम्पो लोप भएर गए । नयाँ पुस्तालाई टेम्पोको जानकारी गराउन पनि यसो गरिएको फणीन्द्र बताउँछन् । “कुनै समय सहरी क्षेत्रमा छोटो यात्राको मुख्य साधन टेम्पो थियो”, उनले भने, “अहिले देखिन्न, त्यसैलाई हाम्रो काउन्टर बनाइदिँदा छुट्टै आकर्षण देला भन्ने सोचेर राखेका हौँ ।”

फणीन्द्रको अर्को पसल चिया पोइन्ट हो । मालपोत कार्यालय नजिकै रहेको यो पसल पहिला मितेरी भान्साघर थियो । यो व्यवसायमा फणीन्द्रका साझेदार डा. विज्ञान पौडेल छन् । चिया पोइन्ट चियादानीभन्दा धेरै फराकिलो छ । गफ गर्दै चिया खाने, बैठक बस्नेहरूलाई पनि यो स्थान उपयुक्त छ । अस्पताल तथा सरकारी कार्यालयहरूको नजिकै रहेकोले धेरैलाई सेवा दिन पाएको फणीन्द्र बताउँछन् ।

चिया पोइन्टमा चियाका अलावा खाना र मःम, चाउमिन, पकौडा जस्ता खाजा नास्ताको पनि व्यवस्था छ । सुपथ मूल्यमा गुणस्तरीय र ताजा खानाखाजा खुवाउने आफूहरूको उद्देश्य रहेको फणीन्द्रले बताए । चिया पिउन प्रयोग गरिने पुराना खालका सिसा गिलास अहिले त्यति प्रयोगमा देखिन्न । तर, उनले यो पसलमा चाहिँ त्यही गिलास प्रयोग गरेका छन् । यहाँ मट्का पनि पाइन्छ । ग्राहकले आफ्नो इच्छानुसारको भाँडामा चिया पिउन पाउँछन् ।
फणीन्द्रले सामान्य किसिमको दूध चिया २० रुपैयाँमै खुवाउँछन् । चियाको विविधतानुसार दरमा पनि विविधता पाइन्छ ।

चियादानीमा ३ जना कर्मचारी छन् भने चिया पोइन्टमा ७ जना छन् । व्यवसायका सबैजसो काममा फणीन्द्र आफैँ पनि कसिन्छन् । उनी भन्छन्, “कामलाई सम्मान गर्न सकियो भने सफलता मिल्छ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट