भरतपुर, २९ चैत ।
नारायणी साकोसले भरतपुर- ५ समीचोकमा रक्तदान कार्यक्रम गरेको छ । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभावलाई सहज बनाउन रक्तदान गरिएको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै नारायणी बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ५ समीचोकस्थित नारायणी बचत तथा ऋण सहकारीको प्राङ्गणमा आयोजित कार्यक्रममा ३१ महिला सहित १०३ जनाले रक्तदान गरेका छन् ।
संस्थाको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदानमा सहकारीका सेयर सदस्य, स्थानीय, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेको आयोजक संस्था नारायणी बचत तथा ऋण सहकारी का कार्यक्रम संयोजक हरिकृष्ण अधिकारीले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी र जनस्वास्थ्यका मापदण्ड पूरा गर्दै रक्तदान गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमपाणि सुवेदीले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कामहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए । चितवनमा रगतको अभाव भएको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी, सेयर सदस्य, रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद दिए ।
भित्तेपात्रो पनि विमोचन
नारायणी बचत तथा ऋण सहाकारी संस्था लिमिटेड भरतपुर ५ को २४ औँ वार्षिकोत्सवको अवसरमा नयाँवर्ष २०७८ को भित्तेपात्रो पनि विमोचन गरिएको छ । संस्थाले भरतपुर ५ का अध्यक्ष पदमपाणि सुवेदीको प्रमुख आतिथ्यतामा भित्ते पात्रो बिमोचन गरेको हो ।





