सडक बिस्तारका क्रममा काटिन्छन् रुख, वृक्षरोपणमा भने छैन ध्यान

भरतपुर, २२ चैत्र ।

चितवन जिल्लामा पछिल्लो दुई वर्षमा सडक मर्मत तथा नयाँ सडक निर्माण गर्ने क्रममा ४ सय बढी रुख काटिएका छन् । जिल्लास्थित डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म सडक बिस्तार तथा निर्माणका क्रममा ४ सय ४४ ओटा रुख काटिएका हुन् । वन कार्यालयका सहायक वन अधिकृत श्याम बहादुर रिमालका अनुसार आँपटारीदेखि केन्द्रीय बस टर्मिनलसम्मको बाइपास रोडको बिस्तारका क्रममा ४५ ओटा रुख काटिएका थिए । तीमध्ये १४ ओटा सालका र अरु अन्य प्रजातिका थिए । ती रुख काट्नका लागि डिभिजन सडक कार्यालयले वन कार्यालयसँग आ.व. २०७५/७६ मै अनुमति लिएको थियो ।

यस्तै, २०७६/७७ मा फिस्लिङ–तोलाङ–शक्तिखोर सडक खण्डको निर्माणका लागि वन कार्यालयले ८२ ओटा रुख काट्ने अनुमति दिएको थियो । रिमालका अनुसार गएको आर्थिक वर्षमा महेन्द्र राजमार्ग अन्तर्गत पर्ने गोन्द्राङ्ग–पुलचोक सडकको बिस्तारका लागि ३ सय १७ ओटा रुख काट्ने आदेश दिइएको थियो । “राष्ट्रिय राजमार्ग भएका कारण सडकको दायाँबायाँ १५–१५ मिटरको सीमाभित्र पर्ने रुखहरू मात्रै काट्न आदेश दिएका हौं”, सहायक वन अधिकृत रिमालले बताए । उल्लेख गरिएका ४ सय ४४ ओटा रुख काट्नका लागि सम्बन्धित सडक आयोजनाले अनुमति लिएको भएपनि शहरदेखि भित्र पर्ने सडक छेउछाउका रुख काट्न भने कसैले पनि अनुमति नलिने गरेको उनले सुनाए ।
“गाउँतिर सडक बिस्तार गर्न परेमा स्थानीय निकायले सीमामा पर्ने रुखहरूलाई अन्धाधुन्ध काट्ने गरेका छन् । त्यसरी काटिएका रुखका बारेमा भने हामीलाई जानकारी हुँदैन”, उनले भने । राजमार्गको सीमाभित्र पर्ने रुख हटाउन डिभिजन वन अधिकृत सम्मिलित जिल्लामा रहेको समितिसँग अनुमति लिनुपर्ने रिमाल सुनाउँछन् । त्यसपछि सडक विभागले आफ्नै खर्चमा रुख कटान गर्ने गर्छ । त्यसपछि काठलाई लिलाम प्रक्रियाबाट बिक्री गरी प्राप्त रकमलाई राजश्वमा दाखिला गरिन्छ । हावाहुरीले ढालेका रुखका खण्डमा भने डिभिजन कार्यालयले प्रति वर्ष १ लाख क्युबिक फुटसम्मका काठ मात्रै संकलन गर्न पाउने प्रावधान रहेको छ ।

नियमअनुसार रुखको कटानी गरेपछि काटिएको प्रति रुख बराबर २५ ओटा रुख रोप्नुपर्ने हुन्छ । तर ती सडक बिस्तार गर्ने आयोजनासम्बद्ध संस्थाले हालसम्म पनि वृक्षरोपण नगरेको वन कार्यालयको भनाइ छ । “रुख कटान गर्नेलाई जमिन डिभिजनले नै दिन्छ । उनीहरूले स्थानीय वातावरणमा हुर्कने खालका बोटका बिरुवा रोपेपछि पाँच वर्षसम्म हुर्काउनु पर्ने हुन्छ । त्यसपछि भने त्यो रुख रोपिएको क्षेत्र डिभिजनलाई हस्तान्तरण गनुपर्ने नियम छ”, रिमालले भने । गोन्द्राङ्ग–पुलचोक, फिस्लिङ–तोलाङ–शक्तिखोर र बाइपास रोड बिस्तार आयोजना कसैले पनि क्षतिपूर्ति बापतको रुख नरोपेको डिभिजन कार्यालयको भनाइ छ ।

रुख नरोपेको अवस्थामा भने मन्त्रालयले रुख कटानले पारेको क्षतिको मूल्यांकन गरी सो आयोजनासँग राजश्व लिन सक्ने रिमाल सुनाउछन् । राजश्वबाट प्राप्त सो रकमलाई मन्त्रालयले जिल्लास्थित डिभिजन कार्यालयमा पठाएपछि त्यही खर्चमा वन कार्यालयले वृक्षरोपण र बिरुवाको संरक्षण गर्छ ।

डढेलोले करिब ४ हजार रुख सखाप
गएको फाल्गुन ११ देखि चैत्र १५ गतेसम्म जिल्लाभरिका पालिकाका विभिन्न २९ ओटा वडामा रहेका जंगलमा एकैसाथ डढेलो सल्किन पुग्यो । सो क्रममा जिल्लाभर अनुमानित करिब ३ हजार ७ सय ९० हेक्टर क्षेत्रमा आगो सल्किएको विवरण डिभिजन कार्यालयले प्रस्तुत गरेको छ । कार्यालयका रेन्जर सुनिल लामा गोलेले सो क्षेत्रफलमा हुर्किएका करिब ४ हजार रुखमा क्षति पुगेको हुनसक्ने प्रारम्भिक अनुमान लगाएका छन् । उनका अनुसार भरतपुरको आँपटारी क्षेत्रमा रहेका सतनचुली, जलदेवी, नवजागृती र रामवेल वन क्षेत्रमा मात्रै करिब १ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । चितवनमा डिभिजन वन कार्यालय अन्तर्गत पर्ने वनको क्षेत्रफल ५७ हेक्टर रहेको छ । जिल्लामा रहेका वनमा डढेलो लाग्ने क्रम भने अझै पनि रोकिएको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट