हुर्कँदै छिन् आमाबाट छुट्टिन पुगेकी पुष्पा

भरतपुर, ४ चैत्र ।

पुष्पा पहिलो पटक सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा ल्याइँदा जम्मा १२ दिनकी थिइन् । आमाबाट छुट्टिन पुगेकी बच्ची गैँडा पुष्पालाई गत वर्ष माघ ५ गते उद्धार गरिएको थियो । दलदलमा फसेको अवस्थामा भेटिएकी उनलाई त्यसयता संरक्षण कोषले नै हुर्काइरहेको छ । “पोथी बच्चा गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरमा पर्ने दलदलमा भेट्टाएर संरक्षण कोषमा ल्याइएको थियो । दलदलमा रहँदा उसको टाउको मात्रै बाहिर थियो, शरीरको बाँकी भाग दलदलभित्र थियो”, पुष्पाको हेरचाहमा खटिएका वाइल्डलाइफ टेक्निसियन लालबहादुर महतराले भने, “दलदलबाट बाहिर निकालेर दुई दिनसम्म खुला ठाउँमा राख्यौं । तैपनि उसकी आमाले उसलाई लिन आइन । त्यसपछि भने स्याहारसुसारका लागि यतै ल्यायौं ।” गैँडाको नाम कसरी पुष्पा रहन पुग्यो भनी प्रश्न गर्दा महतराले रमाइलो उत्तर दिए । “यो गैँडा पुष महिनामा जन्मिएको थियो । अनि फेरि पोथी गैँडा भएकाले उसलाई मिल्दो नाम पुष्पा नै लाग्यो”, उनले भने, “अनि उसलाई सबैले पुष्पा भनी बोलाउन थाल्यौं ।”

अहिले पुष्पा १४ महिनाकी भइसकिन् । पहिलो पटक भेट्टाउँदा उनको तौल जम्मा ५० किलोग्राम मात्रै थियो । वाइल्डलाइफ टेक्निसियनको खटाइ तथा कोषको संरक्षणले गर्दा पुष्पा हृष्टपुष्ट देखिएकी छिन् । “सुरुमा उसलाई दिनको ७ पटकसम्म दूध खुवाउँथ्यौं । घाँसपात खान थालेपछि भने दूधको मात्रा बिस्तारै कम गर्दै लग्यौं”, महतरा सम्झन्छन् । हाल पुष्पालाई दैनिक करिब ७ देखि ८ किलोग्राम खाना दिने गरिएको छ । बिहानी र दिउँसोको समयमा महतराले पुष्पालाई नजिकैको डुंग्रे खोला किनारको चौरमा चराउन लैजान्छन् । पुष्पाले त्यहाँ पानी पनि पिउँछिन् । पुष्पालाई फर्काएर खोरमा लैजानु अगाडि महतराले उसलाई गाँजर, केरा, बन्दा र मकैको च्याख्ला मिसाएको कुँडो खुवाउने गरेका छन् । बच्ची गैँडालाई एक छाक खुवाउन करिब ७०० रुपैयाँ बराबरको खर्च हुने गरेको महतराले बताए । गैँडामा कुनै प्रकारको रोग भएको नभएको निक्र्योल गर्न नियमित रूपमा पुष्पाको शारीरिक परीक्षण पनि गर्ने गरिएको उनले सुनाए ।

जाजरकोट घर भई दुई वर्षदेखि प्रकृति संरक्षण कोषमा वन्यजन्तु प्राविधिकको रूपमा काम गरिरहेका महतरा पुष्पालाई एकदमै माया गर्छन् । त्यो बच्ची गैँडाले महतरालाई पनि औधी रुचाउने गरेको छ । “बच्चाकै उमेरको भएकाले खेल्न खोज्छ । चकचके पनि छ । मेरो पछिपछि दौडन्छ”, महतराले हाँस्दै सुनाए, “खानेकुरा पनि मैले दिए मात्र खान्छ । गैँडा हेर्न थालेपछि फुर्सद पाएको छैन, तर गैँडाको स्याहारमा खटिन पाउँदा भने खुशी लागेको छ ।” गैँडा जसरी नै अरु जीव पनि पृथ्वीकै सम्पत्ति भएकाले तिनको रक्षा गर्नु सबैको कर्तव्य भएको उनी सुनाउँछन् । सामान्य अवस्थामा कुनै पनि जन्तुले मान्छेलाई आक्रमण गर्न नआउने बताउँदै उनले वन्यजन्तुलाई जिस्काउन वा हिर्काउन नहुने विचार राखे । वन्यजन्तुसँग सेल्फी खिची सामाजिक सञ्जालमा राख्नाले वन्यजन्तुको संरक्षणमा झन् असर पुग्ने भन्दै उनी घुम्न आउने सबैलाई पुष्पासँग सेल्फी नखिच्न आग्रह गर्छन् । पुष्पा वयस्क हुन अझै समय लाग्ने भएकाले जंगलमा रहेका विविध जोखिमको सामना गर्नसक्ने भएपछि मात्रै उसलाई जंगलमा छाडिने महतराले बताए ।

गैँडा गणनाको तयारी अन्तिम चरणमा

आगामी चैत्र ९ गतेदेखि सुरु हुने गैँडा गणनाको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका संरक्षण अधिकृत आशिष गुरुङ्गले बताएका छन् । उनका अनुसार गणकहरूलाई गैँडा गणनासम्बन्धी तालिम दिए लगत्तै गणना कार्यक्रम सुरु हुनेछ । आउँदो ६ र ७ गते गणकलाई तालिम दिइने बताउँदै स्रोत र साधनको व्यवस्थापनका विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । “गैँडाको उमेर समूह, लिंग, लगायतका कुराको पहिचान कसरी गर्ने भन्ने विषयमा तालिम दिन्छौं । जिपीएस उपकरणको सञ्चालन एवं तथ्याङ्क भर्ने विषयमा तालिम दिएपछि परीक्षण गणना गर्छौं । त्यसपछि बल्ल गणकहरू फिल्डमा जान योग्य हुन्छन्”, उनले थपे ।

गणनामा गैँडालाई दोहोरिन नदिन गणनाका लागि प्रयोग गरिने हात्ती र गणकलाई ब्लक अनुसार छुट्टाइने उनले सुनाए । चितवन राष्ट्रिय निकुञ्जभरि ब्लक छुट्टाएर गैँडाको गणना गर्न करिब एक महिना लाग्ने उनको भनाइ थियो । गैँडाको शारीरिक आकार, गैँडाको शरीरमा रहेका दाग, घाउ, आदिका आधारमा गैँडाको पहिचान गरिने उनले बताए ।

गत वर्ष पनि गैँडा गणनाको कार्यक्रम तोकिएको भएपनि कोरोना महामारीका कारण कार्यक्रम स्थगित भएको थियो । अन्तिम पटक सन् २०१५ मा गरिएको गणनाले चितवन राष्ट्रिय निकुञ्जमा कूल ६२० ओटा गैँडा रहेको देखाएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट