नेपाली राजनीति अझै सङ्लिएन । मुख्यगरी वाम दलहरुबीचको तिक्तता घट्नुको सट्टा बढेर गएको छ । यसले अझै केही समय राजनीतिक गतिरोध बढेर जाने हो कि भन्ने चिन्ता बढेको छ ।
सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गरिदिएपछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्किएका छन् । तर, उनीहरु पुरानो अवस्थामा पुग्नुपर्दा खुसी देखिन्नन् । एक हुन सकेका पनि छैनन् । नेकपा (एमाले) केपी ओलीको नेतृत्वमा छ भने नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहालको नेतृत्वमा छ । माओवादीबाट कैयौँ नेताहरु चोइटिएर एमाले छिरेका छन् । तिनीहरु वर्तमान सरकारमा मन्त्री छन् । माओवादीले उनीहरुलाई सरकारबाट फिर्ता बोलाए पनि अन्यौलमा छन् ।
मुख्य द्वन्द्व एमालेमै छ । ओली र माधव नेपालको नेतृत्वमा एमाले दुई चिरा छ । ओलीले हिजो बालुवाटारमा चियापान आयोजना ग¥यो । नेपाल समूहले आज सानेपास्थित निजी होटलमा राष्ट्रिय भेला बोलाएको छ । हिजोको चियापान नेपाल समूहले बहिस्कार ग¥यो । आजको भेला नगर्न र कसैलाई नजाने ओली समूहले थर्काइरहेको छ । ओलीले त हिजोको चियापानमा सम्बोधन गर्दै भेलामा जानेलाई कारबाही गर्ने धम्कीसमेत दिइसकेको छ ।
केही दिनअघि यी दुई समूहबीच लामो समयको संवादहिनता तोड्दै धुम्बाराहीमा छलफल भएको थियो । त्यसले केही सकारात्मक सन्देश दिए पनि थप प्रगति गरेन । हुन त हिजो राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक पनि भयो । तर, त्यसमा पनि तिक्ततापूर्ण अभिव्यक्ति मात्रै सुनिए । राजनीतिक गाँठो फुकाउने गरी सकारात्मक सन्देश प्रवाह हुन सकेन ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी प्रतिनिधिसभाको क्रमशः तेस्रो र चौँथो दल हुन् । उनीहरु मिलेर सरकार बनाउन सकिन्छ कि भनेर लागिरहेका छन् । ओली समूह पनि यी दुईलाई साथ लिएर सरकार टिकाइराख्न सकिन्छ कि भन्ने अपेक्षामा छन् । पछिल्लो दुई/तीन महिनामा भएका घटनाक्रमहरु हेर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्वका लागि अरु दललाई मार्गप्रशस्त गरिदिँदा नै राम्रो हुन्छ । आफैँले विघटन गरेको संसद्मा फेरि फर्किएर प्रधानमन्त्रीका लागि बहुमतको सिलो खोजिरहनु नैतिक हिसाबले उपयुक्त होइन । यस विषयमा स्वयं प्रधानमन्त्री र संसद्का चार दलले सोचून् ।





