काठमाडौं, २ चैत ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्यहरुलाई निम्तो दिईएको छ । ओली केन्द्रीय कमिटीको बाह्रौं बैठकको सन्दर्भमा चियापान आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । केन्द्रीय कमिटी सदस्यहरुलाई बिहान ११ बजे बालुवाटारमा उपस्थित हुन एसएमएस पठाईएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल खेमालाई पनि ओलीले निम्तो पठाएको बताइएको छ । ओलीले चैत ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । तर, खनाल–नेपाल पक्षका नेताहरुले भने बैठकमा सहभागी नहुने बताएका छन् ।
सर्वोच्चको फैसलाले एमालेलाई साविकको अवस्थामा फर्काए पनि ओलीले एकलौटी निर्णय गरेपछि एमालेमा विवाद चर्किएको छ । खनाल–नेपाल समूहले पनि समानान्तर कमिटी समेत गठन गरिसकेको छ ।




