फर्कँदै देवघाटको रौनक

भरतपुर, २७ फागुन

त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलको रूपमा चिनिएको देवघाटधाममा कोरोना भाइरस महामारी अगाडि छुट्टै प्रकारको रौनक थियो । विभिन्न चाडपर्वको अवसरमा स्नान, दान एवं मठमन्दिरको दर्शन गर्न यहाँ तीर्थालुहरूको विशेष घुइँचो नै लाग्ने गर्दथ्यो । देवघाटधाम क्षेत्र विकास समितिका अनुसार विगतमा माघे संक्रन्ति, बोलबम, विभिन्न एकादशी, लगायतका समयमा स्नान गर्न दोभान पुग्नेको एकदमै भीड हुने गर्दथ्यो । माघे संक्रान्ति मेलामा ३६ घण्टाको अवधिमा ५ लाख बढी भक्तजनले धाम घुमेको तथ्याङ्क समितिसँग छ ।

तर कोभिड–१९ महामारीले संसारलाई नै आक्रान्त बनाउन थालेपछि भने देवघाटधाममा शून्यता छाउन पुग्यो । झन् भाइरसको संक्रमणलाई रोकथाम गर्न भन्दै प्रशासनले विभिन्न चरणमा बन्दाबन्दी तथा निषेधाज्ञा गरेपछि यहाँको रमझम नै हराउन पुग्यो । धार्मिक, आर्थिक तथा सामाजिक सबै गतिविधि ठप्प भए । मन्दिरका मूलढोका नै बन्द भए । वायुमण्डलमा धूप र अगरबत्तीको सुगन्ध थिएन । घण्टाको ध्वनि गुञ्जिएन । चिटिक्क परी पहेँला वस्त्रमा सजिएर पूजा सामग्री लिई मन्दिर पुग्ने महिलाहरूको लर्काे पनि थिएन । सबैलाई हराभरा लाग्ने गरेको ठाउँ अचानक उराठिलो बन्न पुगेको थियो ।

यद्यपि अब भने देवघाटधाम आफ्नो पुरानै लयलाई समात्ने प्रयास छ । बिहीबार महाशिवरात्रिका अवसरमा यहाँ पुगेका जो कोहीले पनि पुरानो समयको झल्को मिलेको आभाष गरे । “बन्दाबन्दी जारी हुँदा देवघाट क्षेत्रमा बाहिरी व्यक्ति मात्र नभई स्थानीयलाई पनि आवागमन नगर्न भनेका थियौं”, देवघाट क्षेत्र विकास समिति, तनहुँका कार्यकारी निर्देशक धीरन बाबु घिमिरेले बताए, “खोप कार्यक्रम सञ्चालन गरिएको भएपनि महामारी सकिएको भने छैन । पहिले जस्तो निषेध नै गरेका छैनौं । दर्शन गर्न आउनेलाई रोकेका छैनौं ।” समितिले धाममा पुग्ने भक्तजनलाई मास्कको प्रयोग गर्न तथा सामाजिक दूरी कायम गर्न भनी अनुरोध गरेको भएपनि सबैले जनस्वास्थ्यका मापदण्ड अपनाएको भने थिएन । “घरायसी कामको लागि चितवन आएको थिएँ । फुर्सदको समय मिलेपछि मानसिक आनन्द बटुल्न देवघाट पनि आइपुगेँ”, काठमाण्डौँ घर भएका हरिश्चन्द्र भट्टले भने, “कोरोनाबाट जोगिन मास्कको प्रयोग गर्नू भनेको भएपनि यहाँ सबैले लगाएका रहेनछन् ।” धार्मिक अनुष्ठान एवं कार्यक्रम गर्दा जनस्वास्थ्यको मापदण्डको पालना अत्यावश्यक रहेको उनको भनाइ थियो ।

देवघाट परिसरमा बिहीबार पुरानै खालको उल्लास हेर्ने अवसर मिलेको थियो । नदीको दर्शन गर्न बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको उपस्थिति रहेको थियो । आफ्ना हिँडडुल गर्न नसक्ने बुबाआमालाई समेत साथमै लिएर दर्शन गर्न आउने पनि थुप्रै देखिन्थे । बालबालिका पनि आफ्ना अभिभावकसँग घुम्न पाउँदा हर्षित देखिएका थिए । कसैले खेलौना किनेका थिए त कसैले मयूरको प्वाँख । मध्यम उमेरका बच्चालाई बुबाआमाले डो¥याएका थिए, अरु साना बच्चालाई भने आमाबाबुले बोकेर डुलाएका थिए । यी सबै दृश्य नियालिरहेका व्यापारी बलराम आचार्य पनि ८ महिनापछि पसल सञ्चालन गर्न पाउँदा खुशी देखिन्थे । “लकडाउनका बेला यो पूजा सामग्रीको पसल पूरै बन्द गरियो । लकडाउनले सबैलाई दुःख दियो । मलाई मात्रै यस्तो प¥यो भनेर भन्न मिलेन”, उनले भने । लामो समय पसल बन्द गर्दा मुसा र धमिराले बिक्रीका लागि राखिएका लुगाहरू काटिदिएको उनले सुनाए । “धमिराले खाएर नजिकैका देव नाम गरेका भाइको दुई लाख बराबरको सामन नष्ट भयो । यस्तै रहेछ भनेर चित्त मात्रै बुझाउन सकिन्छ, अरु त के गर्नु र खै”, उनले सुनाए । हाल सबैकुरा पुरानै अवस्थामा फर्किएको देख्दा सरकारले व्यर्थैमा लकडाउन गरेछ भन्ने लागेको उनले बताए । “लकडाउनले महामारी रोकेन । बरु सरकारले लकडाउनको नाममा जनतालाई झन् बढी दुःख दियो”, उनले गुनासो पोखे ।

पाल्पा जिल्लाको रामपुरदेखि ६ जनाको समूह बनाएर नदीको दर्शन गर्न आएकी गोरीवन्सीले देवघाट राम्रो लागेको बताइन् । “बुढी भएँ । धेरै डुल्दिनँ । महामारी सुरु भएपछि बल्ल बाहिर निस्किएकी हुँ”, उनले भनिन्, “देवघाट आउन पाउँदा खुशी लाग्यो ।” झापा जिल्लाको भद्रपुरदेखि नाति र छिमेकीको साथमा देवघाट दर्शन गर्न आएका ८८ वर्षीय हरिप्रसाद तिमिल्सिनाले कोरोनाको संक्रमणबाट बच्न विज्ञको सल्लाहअनुसार मात्रै चल्नुपर्ने बताए । “महामारी सुरु भयो भनेर स्वास्थ्य मन्त्रालयले भन्न थालेदेखि नै चिकित्सकले भनेअनुसार कुरा मात्रै गर्दै आयौं”, उनले थप्दै भने, “अहिले त कोरोना विरुद्धको खोप पनि लगाएको छु । जनस्वास्थ्यको मापदण्डका बारेमा सजग रहेरै नदीको दर्शन ग¥यौं ।” रोगसँग एकदमै डराउन आवश्यक नरहेको उनले थपे । “कोरोनाबाट बच्न घरभित्रै बसेर साध्य छैन । हेर्नुस् न फेरि, महामारी छ भनेर नदी पनि त बग्न रोकिएकी छैनन् । जिन्दगी पनि नदी जसरी नै बगिरहने हो नि”, आशावादी हुँदै उनले भने, “रोगबाट बच्न प्रयास चाहिँ गर्नुपर्छ, डराउन भने हुँदैन ।”

तस्बिरः शिव गौतम ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट