भरतपुर, २६ फागुन ।
चितवनका पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ। एक वर्षअघि आजैका दिन सार्वजनिक भएको कुमाता कथासङ्ग्रहलाई तेस्रो संस्करण प्रकाशन गर्ने निर्णय भएको भुँडीपुराण प्रकाश प्रालिले बुधबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ । प्रालिका शैक्षिक निर्देशक अनुपम पराजुलीद्वारा जारी विज्ञप्तिमा एक वर्षमा तेस्रोपटक पुस्तक प्रकाशन गर्न लेखकसँग लिखित सहमति भएको जनाइएको छ ।
कथासङ्ग्रहको तेस्रो संस्करणको आवरण नयाँ कलेवरमा छापिने पनि प्रालिले जानाएको छ । भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको कुमाता कथासङ्ग्रह २०७६ फागुन २६ गते पहिलोपटक प्रकाशन भएको हो । यसको दोस्रो संस्करण २०७७ असारमा प्रकाशन भएको थियो ।
चितवन साहित्य परिषद्को चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, राउन्ड टेबुल गसिप हेटौँडाको सम्मान र हाम्रो मझेरी साहित्य प्रतिष्ठानको स्रष्टा सम्मानबाट सम्मानित भएको कुमाता कथासङ्ग्रहले छोटो समयमा नै पाठकको मन तान्न सफल भएको प्रालिका शैक्षिक निर्देशक पराजुलीले बताए । पत्रकार एवं कथाकार वसन्त पराजुलीले नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथाहरू तयार भएकाले पाठकहरुले यसलाई मन पराई दिनुभएको उनले बताए ।
समाजमा सदियौँदेखिको जकडिएको पितृसत्तात्मक प्रवृत्तिलाई उधेन्ने काम कथामा भएको जनाउँदै कथाकार पराजुलीले महिलाको पीडा, महिलामाथिको दमन, दुःख र शोषणको उजागर गराउनु कथा सङ्ग्रहको धेय भएको बताए । कुमाता कथासङ्ग्रहमा १० वटा कथा समेटिएका छन् । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथामा समेटिएका छन् । कथाकार पराजुलीले कतिपय समाजमा देखिएका र नदेखिएका सत्यलाई उजागर गरिएको बताए ।
यस कथा सङ्ग्रहलाई देशका अन्य भागमा जस्तै चितवन र छिमेकी जिल्लाका पाठकले पनि मन पराएको सम्पूर्ण किताबका संचालक लेखराम सापकोटाले बताए । उनका अनुसार चितवन, मकवानपुर र नवलपरासीमा स्थानीय संघसंस्थाले कार्यक्रमको आयोजना गरी पुस्तकको समीक्षा गरेका थिए । पछिल्लो समय साहित्यमा कलम चलाउन थालेका पराजुलीको अर्को कथासङ्ग्रहसमेत प्रकाशनको तयारीमा छ । पराजुली विगत २२ वर्षदेखि चितवनमा रहेर गोरखापत्र दैनिकमा काम गर्दै आएका छन् ।




