लुम्बिनी विश्वविद्यालयले नयाँ बिषय ल्याउँदै

देवदह, २५ फागुन ।
नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहयोगमा वर्कसप अन एक्सन रिसर्च इनिसियसन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको देवदहस्थित होटल ऊँ दर्शन एण्ड पार्टी प्यालेसमा सोमबार आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष बाबुराम बञ्जाडेले देवदहमा लुम्बिनी बौद्ध विश्व विद्यालयका लागि मन्त्रीपरिषद्को निर्णयबाट १ सय विगाहा जग्गा प्राप्त हुनु निकै महत्वपूर्ण कुरा भएको औंल्याउँदै विश्व विद्यालयले अगाडि सारेका नवीन विषयहरु अप्लाइड साइन्स तर्फको व्यवसायिकताका लागि उदाहरणीय रहेको बताए । उनले नेपालका अन्य कुनैपनि विश्वविद्यालयले यस्ता कार्यक्रमहरु अगाडि नबढाएको जिकीर गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न विषयहरुलाई समायोजन गरेर विल्कुलै नयाँ खालको शैक्षिक कार्यक्रम अगाडि ल्याएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती प्राध्यापक डाक्टर हृदयरत्न बज्राचार्यले एक्सन रिसर्चको महत्वबारे बोल्दै एक्सन रिसर्चले मानवीय ज्ञान, चिन्तन र व्यवहारको उन्नयन गर्दै जीवनलाई परिष्कृत र सुखी बनाउन निकै ठूलो भूमिका खेल्ने बताए । ऐतिहासीक धरोहर, प्राकृतिक सम्पदाको संरक्षण तथा संवर्दन गर्दै समुदायको जीवनस्तर उकास्ने कामका लागि एक्सन रिसर्च महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलकराम आचार्यले शिक्षण मात्र हुने तर सिकाई नहुने खालको परिवेश दक्षिण एसियाकै गहन शैक्षिक समस्या भएको दाबी गर्दै शिक्षालाई सिकाईकै रुपमा अगाडि बढाउँदै आत्मनिर्भर र उत्पादनमुखी जनशक्ती तयार गर्ने तथा परिवेश सुहाउँदो शैक्षिक कार्यक्रमहरु अगाडि आउनुपर्नेमा जोड दिए । उनले देशका अधिकांश विश्वविद्यालयहरुले शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा काम गरिरहेको जिकीर गर्दै अव शिक्षाले बेरोजगार होइन उत्पादन र समृद्धि ल्याउनुपर्छ भन्ने मान्यताले लुम्बिनी बौद्ध विश्वविद्यालयले अप्लाइड साइन्सको क्षेत्रमा निकै अध्ययन गरेर नवीन कार्यक्रमहरु अगाडि ल्याएको बताए । उनले अबको हरेक शिक्षा सिपसँग जोडिनुपर्ने, सीप श्रमसँग जोडिनुपर्ने र श्रम समृद्धिसँग जोडिनुपर्ने धारणा राखे । लुम्बिनी बौद्ध विश्वविद्यालयले अगाडि सारेका नयाँ शैक्षिक कार्यक्रमहरुमा भर्ना भई अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्दै र अध्ययन पश्चात विश्वविद्यालयले रोजगारीको समेत ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड अप्लाइड साइन्सेज तर्फका डिन उकेशराज भुजुले विश्वविद्यालयका नयाँ शैक्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिँदै विश्वविद्यालयले वातावरणीय, आर्थिक तथा मानवजीवनका विविध पक्षहरुको समुचित विकासका लागि नयाँ शैक्षिक कार्यक्रमहरु अगाडि सारेको जानकारी दिए । देवदहमा सञ्चालन हुन लागेको लुम्बिनी बौद्ध विश्वविद्यालयको नयाँ शैक्षिक कार्यक्रमहरु अन्तर्गत एग्रो फरेस्टी, डेभलपमेन्टल स्टडिज र इन्भाएरमेन्टल साइन्सको माध्यमबाट पर्यावरणको रक्षा गर्दै जीवनस्तर उकास्ने खालको शिक्षा प्रदान गरिने उनले बताए । साथै उनले शैक्षिक कार्यक्रमहरु पूर्णतया विद्यार्थी केन्द्रित हुने, अनुभवमा आधारीत सिकाई र बौद्ध दर्शनमा आधारीत हुने जानकारी दिए ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा अगाडि बढाउने हरेक कार्यक्रममा पूर्णतया सहकार्य र सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै, देशका विभिन्न स्थानबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई उचित अध्ययन क्षेत्र निर्माणका लागि स्थानीय तहबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आयाममा निकै गह्रौँ र भारी लाग्ने विषयहरु पढेर पनि युवाहरु बेरोजगार रहने गरेको उल्लेख गर्दै शिक्षा उत्पादनमुखी हुनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै देवदह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष पदम थापाले विश्वविद्यालयका हरेक योजनाहरुमा सहयोग गर्न तयार रहेको बताउँदै देशका हरेक ठाउँबाट अध्ययन गर्न आउने बिधार्थीहरुलाई स्थानीय निकायको समान व्यवहार र भूमिका रहने बताए ।

कार्यक्रममा पाल्पा, दाङ, बुटवल लगायतका क्षेत्रमा रहि विभिन्न विश्व विद्यालयमा जूलोजी, बोटनी लागायतका विषयहरु अध्ययन गरिरहेका बिधार्थीहरुको समेत सहभागिता रहेको थियो । ३ समूहमा विभाजित बिधार्थीहरुको समूहले बुद्ध मावली सामुदायिक वनमा रहेका वन पैदावार, त्यस क्षेत्रमा रहेका जनसमुदायको आर्थिक सामाजिक स्थिति र पर्यावरण जोगाउँदै वैकल्पीक आम्दानीका उपायहरु के हुन सक्छन् भन्ने विषयमा एक्सन रिसर्च गरी रिपोर्ट प्रस्तुत गरेका थिए । जंगललाई जोगाएर वैकल्पिक आम्दानी गर्ने, जनचेतना र वातावरणीय शिक्षा प्रदान गर्ने तथा जडिबुटी तथा विभिन्न वन पैदावारको उत्पादनमा नर्सरी प्रयोग गरी कसरी रोजगार र आम्दानी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा एक्सन रिसर्च केन्द्रित रहेको थियो ।

गत शुक्रबार देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड अप्लाइड साइन्सेज डिनको कार्यालय स्थापना भएको थियो । विश्व विद्यालयका नयाँ विषयहरु एग्रो फरेस्टी, डेभलपमेन्टल स्टडिज र इन्भारमेन्टल साइन्समा भर्ना समेत खुलीसकेको लुम्बिनी बौद्ध विश्वविद्यालयका कर्मचारी माधव सापकोटाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट