भरतपुर, २५ फागुन ।
यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आउँदो जेठ महिनामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले सो निणर्य गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।
यसअघिका वर्षमा बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यस पटक सम्बन्धित विद्यालयले नै लिने गरी जिम्मा लगाइएको बोर्डले जनाएको छ । विगतमा एसईई चैतमै हुँदै आएकामा यस पटक भने कोरोना महामारीका कारण कक्षा प्रभावित हुँदा धकेलिएको हो । सरकारले यस वर्षको शैक्षिक सत्र पनि जेठसम्म कायम गरेको छ ।
बोर्डले विद्यालयमा पठनपाठन कार्य सञ्चालन गर्नका लागि मात्रै पाठ्यक्रम संकुचन गरेको भन्दै विद्यार्थीलाई परीक्षामा भने सम्पूणर् पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ ।
Source: ekantipur dot com




