मेलम्चीको पानी काठमाडौं आइपुग्यो

काठमाडौं, २२ फागुन ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खसालिएको छ । परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रोपटक सुरुङ परीक्षण थालेको हो ।

आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सुरुङ परीक्षण सुरु गरिएको हो । सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना । त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ । पहिलो चरणको पानी भने फोहोर भएकाले बागमतीमा मिसाइएको छ ।

१२ दिन अगाडि खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्विच अन गरी पानी सुरुङतर्फ पठाएका हुन् ।

करिब दुई दशकअघि सुरु भएको आयोजनाको म्याद पटकपटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल ल्याइएको हो । अम्बाथानबाट २६ किलोमीटर सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल ल्याउन लागिएको छ । परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ ।

यसअघि असार २१ गते पहिलोपटक सुरुङ परीक्षण गरिएको थियो । त्यसको नौ दिनमा असार ३० गते १७ नम्बर गेटको ढोका फुटेर आयोजनाका कर्मचारीको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि प्राविधिक रूपमा अध्ययन गरी पूर्णरूपमा मर्मत गरेर सुरुङ परीक्षण गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाको काम सन् २०१३ सेप्टेम्बरमा सक्ने गरी २००९ सेप्टेम्बरमा सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको थियो । उक्त कम्पनीले ठेक्का तोडेपछि इटालियन कम्पनीलाई दिइएको थियो । उसले पनि अन्तिम समयमा सम्झौता तोडेपछि पुनः ठेक्का गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको फिनिसिङ सकेपछि आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । त्यसको सात वर्षपछि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट