दुई दिनभित्रै हार्‍यो इंग्ल्याण्ड

भरतपुर, १४ फागुन ।

इंग्ल्याण्ड विरुद्धको टेष्ट शृंखलाको तेस्रो टेष्टमा भारत १० विकेटले विजयी भएको छ । उसले भ्रमणकारी टोलीलाई केवल दुई दिनभित्रै हराएर शृंखलामा २–१ को अग्रता लिएको हो । नतिजा निस्किाएका टेष्टको हकमा मोटेरा टेष्ट इतिहासकै सातौँ छोटो टेष्ट म्याच पनि बनेको छ ।
टेष्टको दोस्रो दिन बिहीबार भारतले दोस्रो पारीमा जम्मा ४९ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य पूरा गर्न ओपनरद्वय रोहित शर्मा र शुभमन गील दुवैले अविजित रहँदै क्रमशः २५ र १५ रन जोडे ।

यसअघि अहमदाबादस्थित मोटेरा क्रिकेट मैदानमा भारतलाई पहिलो पारीमा १४५ रनमा अलआउट पारेको इंग्लिस टोलीले दोस्रो पारीमा केवल ८१ रनमा समेटियो । इंग्ल्याण्डको ३०.४ ओभर लामो पारीमा वेन स्टोक्सले सर्वाधिक २५ रनको योगदान गरेका थिए । इंग्ल्याण्डलाई कम स्कोरमा समेट्न स्पीनर अक्षर पटेलले ५, रविचन्द्रन आश्विनले ४ तथा वासिन्टन सुन्दरले १ विकेट लिए । पटेल र आश्विन दुवैले १५–१५ ओभरको स्पेल फ्याँकेका थिए ।

दिनको खेल ९९ रनमा ३ विकेट गुमाएको अवस्थाबाट अघि बढाएको भारतले पनि आफ्नो पहिलो पारीमा खराब प्रदर्शन गरेको थियो । उसका ओपनर रोहित शर्माले ६६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । भारतलाई १४५ रनको सामान्य योगफलमा समेट्न इंग्ल्याण्डका जोय रुटले ५, ज्याक लिचले ४ तथा जोफरा आर्चरले १ विकेट लिए । टेष्टको पहिलो दिन बुधबार टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली आफ्नो पहिलो पारीमा पनि जम्मा ११२ रनमा अल आउट भएको थियो । इंग्ल्याण्डको पहिलो पारीमा अक्षर पटेलले ६ तथा रविचन्द्रन आश्विनले ३ विकेट लिएका थिए । टेष्टमा कूल ११ विकेट चट्काएका पटेल म्यान अफ दि म्याच घोषित भए ।

यी दुई टोलीबीचको चौथो टेष्ट फागुन २० गतेदेखि अहमदाबादस्थित मोटेरा मैदानमा सुरु हुँदैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट