भरतपुर, २७ पुस ।
भरतपुर कारागारमा रहेका कैदी बन्दीहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने हेतुले पुस्तक उपलब्ध गराइएको छ । टिम नेपोले लियो क्लब अफ भरतपुर युथसँग समन्वय गरेर कारागारको पुस्तकालयमा रहनेगरि उपयोगी पुस्तकहरू उपलब्ध गराएको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गरि टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन् । विभिन्न विधाका कुल ८ सय ८ थान पुस्तकहरु कारागारलाई प्रदान गरिएको हो ।
नेपोले पुस्तक परियोजना अभियान सञ्चालन गरेर देशभर कारागारमा पुस्ताकालय निर्माण, पुनःनिर्माण तथा पुस्तक सहयोग गर्ने काम गर्दै आइरहेको अध्यक्ष पौडेलले जनाए ।
कारागारलाई सजाय केन्द्रमात्र नबनाई सुधारगृह समेत बनाउने उद्देश्यले यो अभियान चलाइएको उनले बताए । चितवन कारागारका लागि पुस्तक संकलन गर्न लियो क्लव र रोटरी क्लवले पनि सहयोग गरेको थियो । कारागारका प्रमुख काफ्लेले कारागारमा पुस्तक सहयोग गरेकोप्रति आभार प्रकट गर्दै पुस्तक पढ्न खोज्ने कैदीबन्दीहरु कारागारमा थुप्रै रहेको बताए । कारागारमा पुस्तक पढ्नेदेखि लिएर हस्तकलाको काम गर्नेसम्मका कैदीबन्दी छन् । यसअघि पुस्ताकालयमा ३०० जति पुस्तक रहेको उनले बताए । कारागारमा २ आश्रित बालिका र ५५ महिलासहित ६९१ कैदीबन्दी रहेका छन् ।
लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दीपेश ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा नेपो प्रतिनिधि माधवी गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेल, चिकित्सक संघका पूर्व केन्द्रीय सदस्य प्रा.डा. कृष्णप्रसाद पौडेल, रोटरी क्लवका रोशन पियालगायतको उपस्थिति थियो ।





