भरतपुर, २७ पौष ।
भारत र अष्ट्रेलियाबीचको टेष्ट सिरीजको तेस्रो खेल बराबरीमा टुंगिएको छ । भारतले टेष्टको पाँचौँ दिन सोमबारभरि ब्याटिङ गर्दै टेष्ट जोगाउन पुगेको हो । भारतलाई खेल जित्न दोस्रो पारीमा ४०७ रन बनाउनुपर्ने थियो ।
भारतले ९८ रनमा दुई विकेट गुमाएको अवस्थाबाट पाँचौँ दिनको खेल थालेको थियो । खेल बराबरी हुँदा भारतले आफ्नो दोस्रो पारीमा ५ विकेट गुमाएर ३३४ रन बनाएको थियो । उसले कप्तान आजिक्य रहाणे ४ रनमा आउट भएपछि भारतमाथि हारको खतरा मडारिएको थियो । त्यसपछि भने ऋषभ पन्त र चेतेश्वर पुजाराले चौथो विकेटका लागि बहादुरीपूर्वक १४८ रनको साझेदारी गर्दै भारतको हार टार्न मद्दत गरेका थिए । पन्त दुर्भाग्यशाली रहँदै ९७ रनमा आउट हुँदा पुजाराले ७७ रनको योगदान दिए । यस्तै टेष्टलाई बराबरीमा लैजान हनुमा विहारीको समेत भूमिका रह्यो । पारीको अन्त्यमा २३ रनमा नट आउट रहेका उनले क्रिजमा १६१ मिनेट ब्याटिङ गरेका थिए । भारतका लागि रवीचन्द्रन आश्विनले नट आउट ३९ तथा ओपनर रोहित शर्माले ५२ रनको पारी खेले । यस्तै शुभमन गीलले पनि आफ्नो ब्याटबाट ३१ रन जोडे । बलिङमा भने अष्ट्रेलियाका जोश हेजलउड र नाथन लायनले २–२ तथा प्याट कमिन्सले १ विकेट प्राप्त गरे ।
सिड्नीमा खेलिएको टेष्टको पहिलो पारीमा घरेलु टोली ३३८ रनमा अल आउट भएको थियो भने दोस्रो पारीमा ३१२ रनमा ६ विकेट गुमाएको अवस्थामा पारी समाप्तीको घोषण गरेको थियो । भारतले भने खराब प्रदर्शन गर्दै पहिलो पारीमा जम्मा २४४ रन मात्रै जोड्न सकेको थियो । अष्टे«लियाका लागि पहिलो पारीमा १३१ तथा दोस्रो पारीमा ८१ रन प्रहार गरेका स्टिभ स्मीथ म्यान अफ दि म्याच घोषित भए ।
जारी वर्डर गावाष्कर ट्रफीमा भारत र अष्ट्रेलिया दुवैले एक–एक खेल जितेका छन् । यी दुई बीचको निर्णायक तथा अन्तिम टेष्ट देखि ब्रिजबेनमा सुरु हुँदैछ ।





