भरतपुर, २७ पुस
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर चितवनमा झाँकी सहितको पदयात्रा निकालिएको छ । केन्द्रीय बस ट्रमिनलबाट निस्केको पदयात्रा हाकिमचोक–चौविसकोठी–मालपोत चोक–हुलाकचोकहुँदै पुनः बसट्रमिनल पुगेको थियो ।
पदयात्रामा राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा नारा लगाइएको थियो । पदयात्रामा थारु, तामाङ, मगरलगायतका जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो । पञ्चैबाजाको समूह समेत पदयात्रामा सहभागि बनेको थियो ।
राप्रपा चितवनले आयोजना गरेको सो कार्यक्रममा विभिन्न धार्मिक संघसंस्था तथा राष्ट्रवादी समूहले ऐक्यवद्धता जनाएका थिए । बसट्रमिनलमा भएको पृथ्वीजयन्ती सभामा बोल्दै राप्रपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङले चितवनबाटै राजसंस्थाको पक्षमा बिगुल फुक्ने कामको सुरुवात भएको बताइन् । “पृथ्वीनारायण शाहले एक गरेर बनाएको सुन्दर नेपाललाई ७ चिरा पार्ने काम भएको छ”, उहाँले भन्नुभयो, “जनताले करको भार, गरीबी पाए, चामत्कारिक विकास पाउन सकेनन्, अब राजसंस्था नै उचित विकल्प हो ।”, गुरुङले भनिन् ।
उनले विभिन्न दलका नेताले राष्ट्रिय स्वाभिमान गिराउने गरी छिमेकी राष्ट्र समक्ष शिर झुकाउँदै आएकाले राष्ट्रको रक्षाका लागि राजसंस्था नै चाहिएको दावी गरिन् । “हिन्दुराष्ट्र र राजसंस्था कायम गर्न जस्तोसुकै आन्दोलन गर्न तयार छौँ”, उनले भनिन्- “सरकारले फेरी पनि सुनोस्, राजसंस्था कायम गर ।”
राप्रपाका बागमती प्रदेश सदस्य ज्ञानजंग लामाले पृथ्वीनारायण शाहले एकिकरण गरेको देशलाई भागबण्डा गरेर खाने प्रवृत्ति विरुद्ध जनता जागेको बताए ।
राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले गणतन्त्रप्रति जनतामा आएको वितृष्णाको वेगले राजसंस्थालाई स्थापित गर्ने दाबी गरे । शाही शक्ति नेपाल भरतपुरका अध्यक्ष सहुलमियाँ अन्सारीले पृथ्वीनारायण शाहले रगत पसिनाले जोगाएको देशलाई राष्ट्रवादी शक्तिलेमात्रै जोगाउन सक्ने बताए । प्रमुख वक्ताका रुपमा राप्रपाका बरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे सहभागि हुने भनिएपनि प्रतिकुल मौसमका कारण आउन नसक्नुभएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिए ।





