कहाँसम्म पुगेर टुँगिएला त बाबुरामहरुसँगको सहयात्रा?
आदित अजात
समाजशास्त्रीहरुको बहसको विषय अझैं होला तर मुलुकमा जनवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादी राज्य व्यवस्था स्थापनाको लागि अघि बढ्ने समान बुझाइका साथ दुई ठूला कम्युनिष्ट पार्टीको एकता भएर यहाँ सम्म आइपुगेको अवस्था हामी सबैलाई थाहाँ छ । यद्यपि पछिल्लो सरकार गठनसँगै प्रधानमन्त्री ओलीको हरेक कदममा पार्टी भित्रबाट नै व्यवधान हाल्न सुरु भएको हामी सबैले देखेकै हौं र वहाँहरुको हिजो आजका आरोप प्रत्यारोपका भाषणहरुले त्यसलाई थप पुष्टि गरेको नै छ ।
पुष्पकमल दाहाल प्रचण्डले सहमतिको महाधिवेशनबाट एकल अध्यक्ष हुने सपना समेत देखेर पार्टी एकीकरणको पूर्व सर्त कै रुपमा गोप्यरुपमा भएको आधा–आधा कार्यकालको प्रधानमन्त्री हुने सहमति भारतमा पुगेर हठात् सार्वजनिक गरेपनि पछि सार्वजनिक रुपमा नै पुष्पकमल दाहाल प्रचण्डले तत्कालको रुपमा कार्यकारी अध्यक्षका लागि त्यो सब त्यागेका थिए । तर साह्रै नै चंचल स्वभावका प्रचण्डले पार्टी भित्रबाट माधव, झलनाथ र बाहिरबाट बाबुराम भट्टराइहरुको उक्साहटमा सरकारको छवि साह्रै नै बिग्रीएको छ र यहिँ मौकामा नै यसलाइ सत्ता उलट पार्न सकिन्छ भन्ने मतका साथ थापेको एम्बुसमा प्रचण्ड आफूँ चाहि स्वयं परेको देखिन्छ भने प्रम ओली आफ्नै कामरेडहरुको विश्वासघातले श्रृजना गरेको भूमरीबाट बच्ने अन्तिम प्रयासमा छन् । देश खाएर शेष भएका क्रमशः ३५ र १५ वर्ष पार्टीमा आधिपत्य जमाएका दुई कुटिल राजनीतिज्ञहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल सिंहदरबारमा एकैपटक सडकमा पुगेर थेचारिन पुगेका छन् तर उनीहरु त्यसबाट माथि उत्रन र जनताको माझ जान आन्दोलनको नाममा इमान्दार अनुहारको खोजिमा छन् । केन्द्र देखि जिल्ला र वडाहरुसम्म आन्दोलनको नेतृत्व गर्न उनिहरु इमान्दार नेतृत्वहरुलाई पठाइरहेका छन् र आन्दोलनको माहोल बनाउँदै सर्वाेच्च, निर्वाचन आयोग र भारतसम्मलाई प्रभावित पार्न न्वारन देखिको बल लगाएर लागेका छन् ।
प्रचण्ड माधव समूहतर्फ लागेका आम कार्यकर्ताहरुको मनमा प्रचण्ड, माधव र झलनाथ खनालको गरिमामय उपस्थिति हुँदै गर्दा पनि आन्दोलनको नेतृत्वको रुपमा नारायणकाजि श्रेष्ठको अनुहार किन देखाउन पर्याे भन्ने प्रश्न टड्कारो रुपमा गडेको बुझिन्छ । उनीहरुले भगवान मानेका त्रिमूर्तिहरु जनता माझ यति अलोकप्रिय छन् कि उनको नाममा सडकमा चिसो खान त के एउटा विज्ञप्ति निकाल्न पनि आम मानिसहरु दुई पटक सोच्न बाध्य हुने गर्दछन् त्यसैले त्यसको सटिक उपाय रुपमा तुलनात्मक रुपमा सादगी जीवन बाँचि रहेका, अविवाहित र सिद्धान्तको वकालत गरेर नथाक्ने छवि बनाएका नारायणकाजिहरुलाई उनीहरुले केन्द्रमा आन्दोलनको अगुवाको रुपमा ठडाएका छन् । उनी ०६२।६३ यता प्रचण्डका इमान्दार कार्यकर्ताको रुपमा उनको हर अपराध र गल्तीमा साथ दिने सहयात्रिको रुपमा आफूँलाई स्थापित गरेका छन् । उनले धोका दिँदैनन् र आन्दोलनको जस लिएर आफूँलाई विस्थापित गर्न सांगठनिक रुपमा पनि असमर्थ छन् भन्ने बुझाइका कारण नै प्रचण्डले उनलाई आन्दोलनको अनुहारको रुपमा चुनेको देखिन्छ । नारायणकाजी जस्तै जिल्ला जिल्लामा कार्यकर्ता र जनता माझ विस्थापित भएका नेताहरुलाई स्थापित पार्न त्यस्तै इमान्दार अनुहारको खोजि भएको पाइन्छ । त्यसका लागि गोरखामा अहिले लेखनाथ न्यौपानेहरुको खोजि भइरहेको पाइन्छ भने चितवनमा भाइ नारायण दाहाल र छोरी रेनु दाहालहरुलाई पर्दा पछाडि राखेर रामकुमारी झाँक्री र योगेश भट्टराइलाई क्यामरामा उतार्ने प्रयास भइरहेको छ । रामकुमारी झाँक्री र योगेश भट्टराईहरुमा को बढी पुष्पकमल दाहाल प्रति बफादार भन्ने एक किसिमको प्रतिष्पर्धा नै चलेको स्पष्ट देखिन्छ । यो आन्दोलन उनिहरुको साख फिर्ता गर्ने अन्तिम प्रयास हो । दक्षिणपन्थि भासमा बिसर्जन भएको प्रचण्डपथलाई यस्ता ससाना पर्दाहरुले लुकाएर क्रान्तिकारी जनतालाई भ्रम श्रृजना गर्ने दुस्साहस ०६२।६३ यता गर्दैछन् जुन अब सचेत नेपाली नागरिकले पक्कै पनि विश्वास गर्ने वाला छैनन् ।
आन्दोलनबाट नेतृत्वको विकास हुन्छ भनिन्छ तर के उनिहरुले दावि गरेअनुसार केपि शर्मा ओलीको सरकार विस्थापित गरेर श्रृजना हुने नयाँ माहोलमा केन्द्र देखिन् जिल्लासम्म उनिहरुले अहिले जनसमुदायलाई सडकमा तान्न तेर्साइएका अनुहार पार्टीको नेतृत्वको रुपमा स्थापित हुने संभावना देखिन्छ ? त्यो प्रचण्ड माधव गठबन्धनबाट वर्तमान परिस्थितिमा संभव देखिँदैन । उनीहरु आफूहरु नै निश्चित पदहरुको लोभमा अविस्वास प्रस्तावको असफल प्रयास गरेको सार्वजनिक हुँदैगर्दा र नगद स्वरुप अध्यक्ष पद प्राप्तिको लागि पार्टी फुटाएको देखिँदै गर्दा आन्दोलनबाट आउने नयाँ विकल्पलाई नेतृत्व सुम्पन उनिहरु तयार हुने कल्पना पनि गर्न सकिँदैन । साथ साथै चौतर्फि गोयबल्स शैलिको हमला र दक्षिणको दबाबमा परेर सर्वाेच्चले यदि संसद विघटनको प्रधानमन्त्रीको कदम उल्टाइ हालेमा पनि उनिहरुले आशा गरेको जस्तो माहोल श्रृजना नभएकाले पूनः नेकपा एक ठाउँमा ल्याएर २।३ कै सरकारको रवाफमा रमाउने र बाकि रहेको २ वर्ष पुनः कच कच गर्दै लुटपाट चालु नै राख्ने सुर सार गरेको देखिन्छ । नेकपा उपाध्यक्ष बामदेव गौतम पार्टी फुटको औपचारिक घोषणा नभए पनि अवश्विास प्रस्ताव दर्ता अघिसम्म प्रचण्ड माधव गठबन्धनसँगै रहेको स्पष्ट देखिँदै गर्दा नाटकिय रुपमा बिचमा रहनुको कारण प्रचण्ड माधव गठबन्धनले अन्तिम विकल्पको रुपमा नेकपाको अध्यक्ष केपि शर्मा ओलि समक्ष वार्ता र छलफलको लागि त्यो माध्यम राखिँ राख्न चाहेँको देखिन्छ । यो नांगो नाटकको कथित नागरिक समाजका अगुवाहरुले नेकपाकै आयोजनामा भएको भनिएको नागरिक सभामा उठाएको पाइन्छ । उनिहरुले केपि ओलीलाई प्रतिगामि भनिसके पछि उनि लगायत केहि नेताहरुसँग स्थायि दुरी कायम गर्न सार्वजनिक आह्वना नै गर्नुपरेको छ । तर धेरै पटक विवादास्पद ठेकेदारको घर छाडेर अन्त डेरा खोज्दैछु भनेका पुष्पकमल दाहाल आफ्नो सार्वजनिक बदनाम हुँदै गर्दा त्यति सानो महलको सुख छाड्न त तयार हुँदैनन् भने सत्ता पलट भएर आफ्नो हातमा शक्ति आउने सुनिश्चिता नहुँदा सम्म केपि ओलिसम्म फर्कने त्यो कडि गुमाउन पनि चाहिँ रहेका देखिँदैन ।
हिजो प्रतिक्रियावादीहरुले राजाको पालामा गर्ने गरेको सांसद किन बेचको नांगो नाँचको पुनरावृत्ति क्रान्तिका नायक पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हुने भएको छ । केन्द्रमा सर्वाेच्च अदालत र निर्वाचन आयोगको फैसला पछि संसद पुनस्र्थापना भयो भने त्यो दुर्भाग्यपूर्ण परिघटना हामी सबैले देख्न पर्ने निश्चित छ भने प्रदेशमा त्यो खेल सुरु भइ सकेको देखिन्छ । पदको झगडालाई सिद्धान्तको जामा लगाएर उत्कर्षमा पु¥याइदै गर्दा नेकपा विभाजनको संघारमा पुगेको छ । त्यसको परिणामतः मुलुकमा अस्थिरता निम्तिने खतरा देखिन्छ । संभावित अस्थिरताको खेलबाट मुलुकलाई जोगाउन र षडयन्त्रमुलक ढंगबाट पदबाट गलहत्याउन खोज्ने शक्तिलाई तह लगाउन पनि प्रधानमन्त्री केपि शर्मा ओलीले निकै उचित समयमा संसद विघटन गरेको पाइन्छ । यसलाई कू भनेर प्रचण्ड माधव गठबन्धन सडकमा छन् भने संभावित सत्ता पलटको खेललाई निश्तेज पारिएको दाबि नेकपा ओलि समूहको रहेको देखिन्छ । यो बहस संबिधानको धाराहरुको बहसको रुपमा पनि देखिन्छ भने यो छलकपटबाट सधैं नेतृत्वमा पुगेका र बसिरहेका प्रचण्ड माधव र संघर्षबाट नेतृत्वमा पुगेका केपि शर्मा ओली बीच भएको लडाइको रुपमा पनि देख्न सकिन्छ । ३०।३५ वर्ष नेतृत्वमा रहेर सधैं पार्टी र सत्तामा हालि मुहालि गर्न पल्लेका प्रचण्ड माधवहरु केहि समय शक्ति भन्दा बाहिर, नेतृत्व भन्दा बाहिर रहदाँको पिडा उनिहरुमा स्पष्ट देखियो । मुलुक भित्रमात्र नभइ दुई छिमेकि मित्र राष्ट्रबाट भएको उच्च पदस्थ व्यक्तित्वहरुको भ्रमणका दौरान भेटघाटमा उनिहरुलाई समावेश नगराइनुले उनिहरु कमजोर भएको सन्देश विश्वभर पुगेको छ । त्यसैको उत्कर्षको रुपमा पार्टी फुटको कदम चालिएको पनि बुझ्न कठिन छैन ।
हिजो अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवादको धुँवाधार विरोध गरेर जनयुद्ध र जनआन्दोलनलाई हाक्दैँ शक्तिको केन्द्रमा पुगेको नाम हो पुष्पकमल दाहाल प्रचण्ड । प्रतिपक्षमा वा भनौ सडक वा जंगलमा रहँदा विरोध गर्ने तर आफू स्वयं सत्तामा हुँदा जे पनि गर्न तयार हुने प्रवृत्ति प्रचण्डमा रहेको पाइन्छ । यो प्रचण्ड प्रवृत्तिलाई नजिकबाट बुझेका व्यक्ति हुन् डा. बाबुराम भट्टराई । जीवनभर शैक्षिक क्षेत्रमा निजीकरणको विरोध गरेर जनयुद्धकाल भर धेरै निजी स्कूलहरुलाई गाउँघरबाट विस्थापित नै गरे तर जब शक्तिमा पुगे त्यसको ठिक उल्टो आफ्ना आसेपासेहरुलाइ निजी स्कूल र कलेजमा लाग्न प्रोत्साहन मात्र गरेनन् त्यसलाई स्वीकृति दिलाउँदा निस्कने कमिशनको चक्करमा पनि फस्दै गए । यसैको अर्काे स्वरुपको रुपमा एमसीसी पनि लिइन सकिन्छ ।
अमेरिकी साम्राज्यवादको खरो आलोचक पुष्पकमल दाहाल हिजो आज एमसीसीको विरोध गर्नुपरेमा आफू बोल्दैनन् झलनाथ खनाल, भीम रावल र जनार्दन शर्माहरुलाई अगाडि सार्दछन् । उनको स्पष्ट नीति भनेको प्रधानमन्त्री केपि ओलिको पालामा यो नहोस् तर केहिँ संशोधन गरेको बाहनामा आफ्नो नेतृत्वमा एमसीसी लगायत जस्तो पनि राष्ट्रघाति कदम चाल्न उनि तयार देखिन्छन् । विगतमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भारतसँग गरिएको विप्पा पनि त्यसको उदाहरण हो । हाल जनयुद्ध देखिन्का सहयात्री बाबुरामसँगको उनको सहकार्य फेरि बढेर गएको देख्न सकिन्छ । पछिल्लो चरणमा बाबुराम भट्टराईको पार्टी फुटाउन ल्याइएको अध्याधेश फिर्ता गराउन पुष्पकमल दाहाल प्रचण्डले खुलेरै आफ्ना अध्यक्ष केपि शर्मा ओलीसँग दुश्मनि नै मोल्न तयार भए । यसबाट के स्पष्ट हुन्छ भने प्रचण्ड बाबुरामको सहकार्य केही अघिबाट भित्रीरुपमा सुरु भइसकेको हुनुपर्छ । त्यो सहकार्य अब हुने निर्वाचनमा संयुक्त गठबन्धन वा अझ नेकपा र जसपा बीच एकीकरणमा नै गएर टुंगिने संभावना पनि प्रवल देखिन्छ । हिजो पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा स्वीकारेका नै हुन उनि केही समय मोहन वैद्य र रामबहादुर थापा बादल तिर ढल्कने गर्दथे भने केहि समय उनि डा. बाबुराम भट्टराई तिर ढल्कने गर्दथे । दुबै तिरको विचारलाई गोलमोटल गरेर नै पार्टीले विकास गरेको सिद्धान्तलाई एक्काइसौं शताब्दिको जनवादको नाम दिइएको थियो । अहिले पनि तिनै रामबहादुर थापा बादलको क्रान्तिकारी लाईनबाट आफूलाई टाढा पु¥याउँदै बाबुराम भट्टराईको दक्षिणपन्थी लाइन पकड्न पुगेका छन् । त्यसैले प्रधानमन्त्रीको कदमलाई उनिहरुलाई असंवैधानिक कूको हवाला दिए पनि प्रचण्ड माधवहरुलाई नेतृत्व हडप्न र शक्तिमा पुग्न पार्टी भित्र र बाहिर अपनाइ रहेको विधि कुनै पनि मानेमा क्रान्तिकारी विधि हैन, त्यसले प्रतिक्रान्तिलाई नै सेवा गर्ने निश्चित छ । यसलाई क्रान्तिकारीहरुले एकजुट भएर परास्त गर्नुपर्ने हुन्छ ।
विश्वभर कम्युनिष्ट आन्दोलन कमजोर भइरहेको परिवेशमा सबै संसारभरका सर्वहाराहरुलाई हौसला प्रदान गरिरहेको र उनिहरुले यो नयाँ प्रयोगलाई आशाको किरण सहित हेरि रहेका थिए । जनयुद्ध र जनआन्दोलनको जगमा उभिएको कम्युनिष्टहरुको ध्रुविकरणले ल्याएको २।३ को सरकार तासको महल जसरी ढल्दै गर्दा विश्वभरका भाइचाराहरुमा पिडा थपिएको छ । सिद्धान्तको माला ओडाएकै भरमा यो परिघटनालाई प्रचण्ड माधव गठबन्धनले कम्युनिष्ट जनमत माझ सजिलै लानसक्ने देखिँदैन । त्यसैले उनिहरुले जनतामाझ जान इमान्दार देखिन नारायणकाजिहरुलाई रोजेका छन् भने जनताका माझ नागरिक समाजको आडमा आन्दोलनलाई सशक्त रुपमा लैजाने परिकल्पना पनि गरिरहेको पाइन्छ । त्यसका लागि थप माहोल बनाउन अन्तर्राष्ट्रिय हस्तक्षेपको पनि आह्वान गरिरहेका छन् भने उत्पिडित समाजको रुपमा रहेको मधेशलाई हातमा लिन त्यसको नेतृत्वको रुपमा रहेका डा. बाबुराम भट्टराइलाई प्रयोग गर्ने रणनीति पनि सँग सँगै अख्तियार गरेको पाइन्छ । प्रचण्ड माधव सहित बाबुराम उपेन्द्रहरुको स्वार्थ मिलुन्जेल यो गठबन्धन कायम रहने संकेत देखिन्छ तर आम जनताले चाहीँ यिनिहरुलाई खुलेर साथ दिइ सकेका छैनन्। हेरौं २।३ सरकार ढाल्दै गर्दाको परिणाम प्रचण्ड–माधवहरुको पक्षमा निस्कन्छ कि विपक्षमा ।





