भूकम्प र भावनाका तरङ्गहरु

२०७२ साल बैसाख १२ गते शनिबारको दिन पारिलो घाम । किर्तीपुरको डाँडामा हाम्रो डेरा । बिहानको नुवाईधुवाई पश्चात खाना खाइयो टन्न दालभात अनि अन्डा स्वादिलो मानेर । मासु उहि घर जाँदा वा कहिलेकाही पैसा मिलाएर वा लुति अर्थात ललिता जो मेरो रुम पार्टनर हो, उसले घरबाट पैसा पाएको दिन । अन्डा नि उही हप्ता दस दिनमा एक फेरी । गरीबी र विवशताले जो च्यापेको थियो ।

घरबेटी बाको एक तले घर । वरिपरि टिनका सात वटा छाप्रा । त्यहि छाप्रा मध्येको एउटा चाहिँ हाम्रो डेरा । ऊ बेला दुई हजारको सस्तो । प्रत्येक कोठामा दुईटी केटी । त्योभन्दा बढी साथी नि छिर्न नदिने । केटी मात्र बस्नुपर्ने । लगभग छात्रावास जस्तो वातावरण । शनिवार मात्र नुवाईधुवाई गर्न र छतमा बसेर दिनभरि जे गर्न नि पाईने । म काम बाट उम्किएँ र हतारहतार छतमा पुगेँ । माथिबाट चारैतिर नियालेँ । तल सबै नुवाईधुवाईमा व्यस्त थिए । लुति पनि कपडा मिच्दै थिई । चितवनतिर घर भएकी पातली चन्चली ऊ सबैको प्यारी भएकीले मायाले त्यो उपनाम पाएकी थिई । उसो त म सरिता, घर सिन्धुपाल्चोक, सबैले मलाई सुरी अनि सुरी म्याऊ भनेर बोलाउँछन् । यहाँ बस्ने सबैको आफ्नै उपनाम छन् । त्यसपछि चारैतिर किर्तीपुर डाँडाभरि भरिएका घरहरु नियालेँ अनि पुरानो भईसकेको कुर्सीमा बसें ।

म सानैदेखि पत्रपत्रिका पढ्ने र रेडियो कार्यक्रम सुन्थें । त्यसका लागि हेडसेट भएको सानो नोकिया मोबाइल मामाले दिनुभएको थियो एसएलसी पास गरेपछि । अहिले नि त्यही मोबाइल साथी छ । `डियर कल्यान, यो माया भन्ने चिज यस्तै हो´ देखि `संगिनी सुई´, `प्यान्थर´, `पूजा साबुन´, `गोरखकाली टायर´ आदिका बिज्ञापन केहि बाँकी हुन्न थियो सुन्नलाई । अनि कलेज टियुको लाइब्रेरीमा गएर दिन बितेको थाहा पाऊन्न थिएँ पत्रिका पढ्दा ।
सो दिन पनि घरवालाले पढेर छोडेको पत्रिका टिपेँ अनि विज्ञापन पनि नछोडी पढ्न थालेँ । एक्कासी पछाडीबाट कुर्सी हल्लियो । `यो लुती पनि कति चल्छे, एकछिन पढ्न दे न´ भन्दै म कराएँ । हल्लाई लगातार बढ्दै गयो । `कति दह्रो भएर हल्लाउँछेस् के । बिहान खाको अन्डाको सबै बल निकाली´ म फेरी कराएँ । अनि ऊठेर पछाडी हेरेँ । भूकम्पले सबै भागाभाग बनाईसकेछ । म भने बल्ल आत्तिएँ । खुट्टा लरबरिए । म थुचुक्क त्यही बसें आँखा चिम्लेर रामराम भनिरहेँ । भूकम्प थामियो । जसोतसो म तल पुगेँ । सबै साथी छाप्रोभित्र खाट मुनि पसेका रहेछन् । घरवालाका बा आमा नि त्यहीँ पुगेछन् । सबै रून कराउन लागेका । मैले सबैलाई बाहिर निस्कन भनेँ र अलिक परको खुला चौरमा जान आग्रह गरेँ । सबै उतै दौडियौं । चौर पुग्दा मान्छेको खचाखच, तर्कवितर्क सुरु भैसकेछ । क्षति त सबैलाई थाहै छ । म त्यो पाटोमा लागिन ।

कोठामा चामल सकिन लागेको थियो । तेस्रो सेमेस्टर सुरू भएको थियो । दशैँ पश्चात घर नगएका हामी १४ गते आफ्नो आफ्नो घर जाने र चामल तरकारी गुन्दुक जे छ लिएर आउने घरसल्लाह भएको थियो । हिजो शुक्रवार साँझ नै । अब फोन लागेन कतै । दुई दिनपछि घरमा कुरा भयो । घर लडेछ । माली गाईको खुट्टा भाँचिएर काम्रो बानेको छ रे । भकारीको धान माटोमा मिसीएको छ रे । मलाई भनेर राखेको दस पाथी चामल सकुसल छ रे । सानो छाप्रो बनाएर बारीको पाटामा बस्नु भाको छ रे इत्यादि । सिन्धुपाल्चोक त तहसनहस नै बनाएछ । गरिब किसानी परिवारको जेठी छोरी मैले एसएलसी दिएकी बहिनीलाई नि काठमाडौँ ल्याएर पढाउने इच्छा थियो । जागिर खाएर घरखर्च पठाउने सपना धेरै थिए । बाआमा साथीभाइको मनोबिज्ञान बुझ्थेँ । किनकी म टियुमा स्नातकोत्तरको सोसियोलोजी र साईकोलोजीको छात्रा थिएँ ।

घर जान झनै हतारो भयो । तर जाने सम्भावना भएन। डेराको चामल जोगाउन कति दिन टियुमा विद्यार्थी संघले बाडेको भात र राहतका लागि लाईन बसियो । यो पनि कहाँ दिगो बन्यो र । ललिताको गाउँको दाइ चाहिँ पाँगातिर बस्थे। मोटरसाइकलमा घर जाने आउने गर्थे । ललिताको घरबाट सामान र पैसा ल्याउने काम उनैको थियो । यसपाली ललितालाई पनि लिएर घर आउ भनेकाले ऊ मोटरसाइकलमा घर जाने भई । ऊ छिटै सामान र पैसा लिएर आउने बाचा गर्दै चितवन लागि । म कोठामा एक्लै भएँ । घरमा फेरी फोन सम्पर्क भयो । `राहत पाईँदैछ । सबै कुराको जोहो भाछ। चामल पैसा लिन आईज छोरी´ आमाले भन्नुभयो । एक्लो ज्यानलाई भन्दा त्यहाँ झनै गाह्रो छ ।गाउँमा कसैको घर छैन । तहसनहस र कैयौ घरपरिवार ऊजाडिएका छन् । त्यस्तो विकराल परिस्थिति हेर्न मन लागेन अनि ढाटें। `आमा त्यहाँभन्दा बढि त यहाँ राहत पाईएको छ । मेरो चिन्ता नलिनुस् । मैले भोलेन्टेयरको जागिर नि पाउन लागेको छु । सबै राम्रो भए बहिनीलाई अर्को महिना यहि ल्याऊछु ।´ बढो संतुष्टी मिल्ने गफ लगाएँ । अनि फोन काटें ।

जेठ महिनाको पहिलो हप्ता ।
दिनहरु यस्तै दु:ख पीडा झमेलाका भावनामा अल्झिएर चलिरहेका थिए । म राती खाना खाएर बीबीसी सुन्दै थिएँ । यत्तिकैमा पल्लो कोठामा बस्ने रिता आई । नजिकै आएर छेउमा बसि अनि भनि – `सुरी तँ कामको खोजीमा छस् । अहिले कतै काम पाईँदैन् । जागिर पाएकाले नि गुमाउँदैछन् । हामी त घर जाँदैछौ सबै जना । तँ नि जा !´ यति भनेर ऊ जुरुक्क उठी अनि गई । मेरो मनमा चिसो पस्यो । घर जाउँ त आमालाई बहिनीलाई झुठो आश्वासन दिएको थिएँ । यहिँ बसुँ त डेरा भाडा तिर्ने त के खाने, रासन किन्ने नि पैसा थिएन । त्यो रात छट्पटी मै बित्यो । भोलिपल्ट टियुको गेटतिर लागेँ । एउटी साथी भेट भई । उसले मेरो विवशता थाहा पाएकी रहिछ र भनि- `तँलाई एउटा अवसर छ । एउटा धनाढ्य, असल, ह्यान्डसम, मेनपावरको मालिक जो गत मंसिरमा बिबाहीत थियो । यहि बैसाख १ गते नयाँवर्षको राती पार्टीबाटै उसकी श्रीमती पैसा र बैँसको उन्मात लागेर ड्राईभरसँग भागिछ । उ तनाबमा छ । झनै यो भूकम्पले उसको मन अझै भाँचिएको छ । संसार यस्तै रहेछ भनेर दिन रात पैसा उडाउँदै छ । रक्सी, नसा र केटीको लागि । उसलाई लुट्ने उसकै चिनजानका साथी रहेछन् । भनेजस्तै केटी पुर्‍याउने । कमिसन खाने।´ ऊ भन्दै थिई । मैले बिचैमा रोकेँ । मेरो यसमा के सम्बन्ध ? म कड्किएँ ।
उसले अझै भनि-`म बस्ने घरको एउटा केटो त्यही मेनपावरमा काम गर्छ । उसले मलाई त्यहाँ पुर्‍यायो । खुबै रमाईलो गरेर बसेको ग्रुप थियो । मैले नि चिकेन मोमो खाएँ दुई प्लेट । अनि एक रात बिताएर आएँ । कसैलाई थाहा भएन । ऊ यसको लागि एकदमै सुरक्षित र गोप्य समबन्ध राख्ने रहेछ।´
`छि ! दुई प्लेट मोमोमा आफ्नो कुमारीत्व गुमाईस् ?´ मलाई ऊ प्रति घृणा जाग्यो । ऊ डराईन । उसले भनि -`मैले कुमारीत्व त पहिलै गुमाएकी छु । केटा साथीको लागि । उसले धोका दिएकाले मैले नि त्यही बाटो अपनाएँ । मोमो मात्र हैन दुई हजार र यो मोबाईल नि पाएँ । यो अन्जान सहरमा कस्ले के गर्छ ? कसैलाई कसैको मतलब छैन ।´ ऊ मुस्कुराई । मोबाईल फोल्डिङ वाला कलरफुल थियो । यस्तै मोटरेला होला । `ऊ एकचोटी भेटेको केटी फेरी हेर्दैन । अनि उसको रात बित्ने ठाउँ एउटै हुन्न । यी हेर केटो ।´ उसले स्क्रीन सेभरमा भएको फोटो देखाई जुन अरु फोटो र सिम निकालेर ऊसलाई मोबाईल दिँदा डिलिट गर्न छुटेको थियो । मैले एकचोटी मोबाईल तीर आँखा लगाएँ । वास्तममै चिरपरिचित अनुहार जस्तो । खाईलाग्दो, हँसिलो, गाँठिलो छनक परेको केटो, आकर्षक ! यति राम्रो केटो, धनसम्पति छोडेर जाने केटी साँच्चै उन्मात लागेरै हिँडेकी रै छ जस्तो लाग्यो । मलाई उसको मनोविज्ञान बुझ्न मन लाग्यो । ऊ प्रति मायाको भाव जागेर आयो । कठै ! पैसामा बिक्ने, बिकाउने समाज !

मैले उसलाई भनें – `पहिला तेरो डेरासँगै बस्ने केटोसँग भेट गरा त !´ ऊ राजी भई । हामी उसकै कोठातिर लाग्यौँ । त्यो केटोसँग मेरो परिचय गराएर ऊ खाना बनाउन थाली मेरो लागि पनि । यही मौकामा मैले उसँग लामो गफगाफ गर्ने अवसर पाएँ । उबाट मेनपावर मालिकको स्थायी घरपरिवार, मेनपावर सबै पत्ता लगाएँ । ऊसलाई म अर्को हप्ता भेट्न जान्छु भनेर आश्वासन दिलाएँ । ऊ मनमनै मलाई पुर्‍याए बापतको कमिशन गन्दै थियो । म भने मेनपावर मालिकको जिन्दगी बदल्ने योजनामा थिएँ ।        खाना खाएर म आफ्नो कोठामा फर्किएँ । सिरानी मुनिबाट आफ्नो सर्टिफिकेट झिकें र कोठाबाट निस्किएँ । अनि रत्नपार्क जाने गाडी चढें । त्यसपछि सरासर नयाँ बानेश्वरको टेम्पो चढेर म मेनपावर पुगें । मेनपावर बन्द गर्ने सुरसारमा थिईन् एउटी पाकी दिदी । मैले भनें- `दिदी ! सर खै त ? मलाई ईन्टरभ्युको लागि बोलाऊनु भएको थियो ।´
`सर त अफिस बेलामौकामा मात्र आउनु हुन्च। आज नि झ्यालको सिसा फेर्न लार अघि नै निस्किनु भाच । म नि कोठा सफाई अरेर अब बन्द अर्ने तयारी मा छु ।´ उनको भाषा लवज गुल्मी पाल्पा कास्कीतिरको जस्तै थियो । उनीबाट पनि सरको बारेमा धेरै कुरा खोतल्नु थियो । त्यसैले मैले कुरा बनाएँ । `दिदी वास्तममा भन्नुपर्दा म उहाँको सानोको साथी । बिदेशमा थिएँ । दुईचार महिना हुँदैच नेपालाँ आको । ऊ श्रीमती गुमाएर तनाबमा र च ! घराँ आमालाई नि सन्चौ छैन र च ! मलाई जसरी नि ऊ सँग भेट अराउनु न दिदी´ । उनकै लवज जस्तै पारेर जसोतसो यी शब्द बोलेँ ।
उनले मेरो कुरा पत्याईन् । छेउमा बसिन् र भनिन्- `बुटवलकी सरकी आमालाई सन्चो भै छैन रे ! म फागुनाँ आफ्नो घर गुल्मी जाँदासम्म त्यो घर कति सुन्दर थियो । अहिले सबु मेडमले गर्दा तहसनहस भो ।´
यति भनिसक्दा मैले सरको, उनको घर, तिनी मेडमको नाम सबै भेउ पाईसकेको थिएँ ।

सागर रहेछ उसको नाम । उसको कार्यकक्षमा देखाएको थियो । अब मलाई किर्तीपुरको त्यो केटा र यो दिदीको भनाई मिलेकोले सत्य कुरा यकिन भयो । झनै ऊ प्रति मायाको भाव ऊचाईमा पुग्यो ।

मैले तिनी दिदीलाई सबु मेडम कस्ती थिईन् भनेर सोधें । उनले सरको टेबलको भित्रबाट फोटो निकालेर देखाउन थालिन् । मैले त्यसैबेला घर्रामा सानो सलको टुक्रा बाँधेको डायरी देखें । ती दिदीको आँखा छलेर खुसुक्क झिकें अनि आफ्नो झोलामा राखेँ । त्यसपछि म किर्तीपुरतिर फर्किएँ । सरासर कोठा आएर सरको डायरी पढ्न लागें । मैले जस्तै गरि सम्झना र भावना लेख्दा रहेछन् ।
एउटा यस्तो पानामा मेरो आँखा लाग्यो । साउनको बिहानै झरीको दिन काम बिशेषले मच्छेगाउँ गएर फर्किँदा किर्तीपुर तिनकुनेमा बाईक दुर्घटना भएको । एउटी सेतो कुर्ता सुरुवाल, रातो सल लगाएकी लामो कपाल भएकी केटीले आफूलाई काखमा राखेर आफ्नो सल बिचैमा च्यातेर फुटेको टाउको बाँधेको । सानो फोनबाट प्रहरी र एम्बुलेन्सलाई फोन गरेको । भिडमा नआत्तिई मलाई हौसला राख्दै हस्पिटल लगेको अनि एम्बुलेन्समा हजुरको मोबाईल दिनुस् घर परिवारमा फोन गर्दिन्छु भन्दा राजन राजन भन्दै म बेहोस भएको । होस आउँदा ऊनी त्यहाँ नभएको । पछि ऊनलाई भेट्न कयौंपटक किर्तीपुरको क्याम्पस गएको तर भेट नभएको । तिनी मेरो ज्यान बचाउने अप्सरा थिईन् । मेरो जीवनमा ऊनी भए आजसम्मको दिन नआउने जस्ता यावत कुराहरू लेखिएको थियो ।

अरे ! म छक्क परेँ । यो कथा त मैले नि सुनेको । देखेको जस्तै हुबहु लाग्यो । मैले हतारिँदै मेरो डायरी निकाले अनि २०७१ साउन १० गतेको दैनिकी पढ्न थालेँ ।
`त्यों दिन २ बजे सेमेस्टर प्रथम वर्षको अन्तिम परीक्षा थियो । म खाना खाएर दसै बजे कोठाबाट निस्किएँ । ता कि पुस्तकालयमा बसेर तयारी गर्छु । रातभरिको झरीले चिप्लो रोड । तिनकुनेमा आईपुग्दा एउटा मोटरसाइकल माथिबाट चिप्लेर घिस्रिँदै आयो र केहि तल नाली छेऊमा पुगेर पछारियो । साईकल वालालाई बचाउँदा त्यस्तो भएछ । आँखा अगाडी नसोचेको दुर्घटना भयो । भिड जम्मा हुन थाल्यो । त्यो मोटरसाइकल नजिकै म दौडिएर पुगें । खै किन के ले तान्यो मलाई । केटा `प्लिज हेल्प मी´ भनेर कराउँदै थियो । हेलमेट उछिट्टिएर नालीमा थियो । मोबाईल नाली छेउमा । टाउकोबाट तरर रगत बग्न थालेको । मैले उसको टाउको उठाएर आफ्नो काखमा राखेँ । आफुले लगाएको रातो सल धरर च्यातें अनि उसको टाउकोमा कसेर बाँधे ताकि खुन बढि नबगोस् । वरिपरि जम्मा भएकालाई मोटरसाइकल र हेलमेट ऊठाएर साईडमा राख्न लगाएँ । हतारहतार मेरो सानो फोनबाट प्रहरी र एम्बुलेन्सलाई फोन गरें । तुरुन्त एम्बुलेन्स आयो । बल्खुको बयोधा हस्पिटल नजिकै भएकाले । म नि एम्बुलेन्समा उहाँलाई लिएर चढें । खै त्यो दिनको साहस कसरी आयो । उहाँ लगभग बेहोस हुने अवस्थामा हुनु हुन्थियो । मैले तुरुन्त फोन मागेँ र उहाँको परिवारमा फोन गरिदिन्छु भनेँ । के नाममा फोन गरुम् भनेँ । उहाँ राजन राजन! भनेर बेहोस हुनुभयो । मैले उहाँको फोनबाट राजनलाई फोन लगाएँ र भनें -`हजुरको मान्छेको दुर्घटना भएको छ । म बल्खु बयोधा लिएर आउँदैछु । तुरुन्त आईपुग्नु।´ यति भनेर फोन काटें । बल्खुको बयोधा हस्पिटल पुग्ने बितिकै उहाँलाई इमरजेन्सीमा लगें । म बाहिर राजनजीलाई पर्खेर बसें । दस मिनेटपछि उहाँ आईपुग्नु भयो । उहाँ बिरामीको बेस्ट फ्रेंड रे । मैले उहाँलाई फोन दिएँ र घटनाको विवरण दिएँ । त्यसपछि म किर्तीपुर परीक्षा छ दुई बजे भनेर निस्किएँ । परीक्षा भरी त्यो बिहानको घटना आँखामा आईरह्यो ।
ओहो, कसरी यस्तो एउटै घटना । दुई थरीले दुई तरिकाबाट लेखेको । कस्तो संयोग ! उसको परि त म पो रहेछु । फेरी बाकसबाट च्यातेर बाँकी भएको आधा सल निकालेर हेरें । त्यो दिन फेरी रिल घुमे झैँ घुम्यो मेरो मानसपटलमा फनफन्ती । यस्तो अचम्म ! विस्वास भएन आफैमा । त्यो अन्जान सर जसको म जिन्दगी बदल्न चाहेको थिएँ। वास्तममै यो संयोग रहेछ । मैले एक गिलास चिसो पानी पिएँ । मुख धोएँ । अनि सरलाई भेट्न प्रमाण सहित उहाँको, मेरो डायरी, च्यातिएको सल बोकेर हिंडें । मलाई उहाँको नम्बर किर्तीपुरको केटाले दिएकै थियो । हिम्मत गरेर फोन गरें । अनि भनें । सर आजको बसाईँ हजुरको नाममा । कहाँ भेटौं ? उहाँले चावहिलको कुनै एक ठाउँको ठेगानामा ६ बजे आईपुग्नु भन्नु भयो । पाँच बजिसकेको थियो । हतारिँदै म त्यता पुगें । ६ बजेर पन्ध्र मिनेट भईसकेको रहेछ म त्यहाँ पुग्दा । `यस्तो लेट गर्ने मान्छे मलाई मन पर्दैन् ।´ ऊ नि कुर्सी पछाडी पारेर झ्यालतिर फर्केका थिए । अनि
शालीन अनुहार म तीर फर्काएर जुरुक्क ऊठे । म केहि नभनि उहाँलाई ग्वार्लम्म अँगालो मार्न पुगें । अनि दुरदुर रुँदै भन्न थाले – `सागर सर ! दैबले कस्तो खेल रच्यो । म एक क्षणको लागि परि बनेर हजुरको जीवनमा आएको रहेछु । जुन मैले थाहा पाउँदा धेरै ढिलो भईसकेछ । अब हजुरले आफ्नो अमूल्य जीवन यसरी विरक्तिएर नबिताउनुस् । म हजुरलाई छोडेर जाने छैन । त्यो दिन परीक्षा नभएको भए म किर्तीपुर नगई त्यहि बयोधामै बस्ने थिएँ । राजनजी ले मेरो नाम सोध्नु भएन । मैले पनि आफ्नो परिचय दिन आवश्यक ठानिन । किनकि मेरो मस्तिष्कमा परीक्षा मात्र थियो । भविष्यमा यस्तो होला भनेर सोचेकै थिईन । त्यो दिनको दुर्घटनामा यस्तो माया पलाउँछ भन्ने हेतु नि थिएन । अन्जानमा भएको घटनाले यो मोड लियो । ऊनले बुझे कि बुझेनन् ? थाहा पाईन मैले ।
फेरी मैले आफ्नो र उनको डायरीको त्यो दिनको घटना र मेरो सलको टुक्रा उनको हातमा थमाएर थचक्क बसें । उनले एकनास मलाई हेरे, सललाई हेरे अनि डायरी पढ्न लागे ।
अन्ततः घटना छर्लङ्ग भयो । उनि भक्कानिएर आए – `तिमी किन मेरो जिन्दगीको अन्तिम क्षणमा आयौ ? म र साथी मिलेर कति खोज्यौँ ? किर्तीपुर क्याम्पसभरी । पछि ममीको रोजाईमा ०७१ मंसिर लमा बिहे गरेँ । २०७२ बैसाखमा आँधि र भूकम्प आएर मेरो जीवन तहसनहस भयो । अनि मैले यो कुलत बाटो खोजें पैसा र बैँस दुबै सक्ने ।´

म केहि बोलिन । निकै बेर सन्नाटा छायो ।
`मैले हजुरलाई चिनेर आएको थिईन । एउटा बिबाहीत मान्छेको नारीले गर्दा भत्केको घर सपार्न सक्छु कि भनेर मनैदेखि लाग्यो अनि म हजुरको मेनपावर सम्म पुगें। अन्ततः डायरीले हाम्रो मिलन गरायो ।´ मैले सबै वृतान्त सुनाएँ ।

हाम्रो मौनताले अन्तिममा अब नछुट्टिने बाचा गरायो । हामी फेरी एक अर्कासँग नछुट्टिने बाचामा बाँधियौं र लगत्तै असारमा बिहे गर्‍यौँ ।मैले मेनपावरलाई सकारात्मक सोच र विवेकले अगाडी बढाउनुका साथै कसैले बिगारेको उहाँको जिन्दगी सपारेँ । यति मात्र नभएर बहिनीलाई काठमाडौ राखेर पढाउने अनि बाआमाको गरिबी हटाउने सम्मको महत्वपूर्ण काम गरें । यसरी भूकम्प र भावनाका तरङ्गहरु साम्य हुँदै सफल दिनचर्या सहितको जीवन चल्न थाल्यो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट