भरतपुर, २३ पुस ।
पूर्वी चितवनको भण्डारा बजारमा कफी सप संचालनमा आएको छ । कफी पारखीहरूका लागि लक्षित गरेर स्मार्ट कफी हाउस संचालनमा ल्याइएको संचालक कुमारप्रसाद पाठकले बताए ।
पाठकले कफी सपमा अटोमेटिक मेसिन प्रयोग गरेका छन् । मेसिनले कफी, चिया, तातोपानी अलगअलग रूपमा भण्डारण गर्छ । दूध पाउडर र चिनी पनि मेसिनमा सेट गर्न मिल्ने हुनाले चिया, कफीलाई आवश्यक दूध चिनी मेसिनले नै निर्धारण गरिदिन्छ । ग्राहकले जे खान खोज्छन् त्यही अनुसार मेसिनको बटम थिचेर सेवा लिन सकिन्छ ।
कफी सपमा पाठकले चिया कफीका अलावा बिस्कुट, कुकिज र केक पनि राखेका छन् । आवश्यकता अनुसार जन्मदिनको केक पनि यहाँ उपलब्ध गराइएको छ । यो व्यवसायमा करिव १० लाख लगानी गरेको पाठकले बताए । यो व्यवसायमा पाठक जेठा छोरा विशेष सहित आफैं खटिएका छन् । कान्छो छोरा विवेकले सौराहामा होटलमा काम गरिरहेका छन् । `आफ्ना दुबै छोरालाई बिदेश नपठाइ स्वदेशमै श्रम गर्न सिकाउँदै व्यवसायमा लगाएको छु´, पाठकले भने – `स्वदेशमै केही गर्न पाएकोमा छोराहरू पनि खुसी छन् ।´
पाठकले सुरुमा २४ वर्ष अगाडि भण्डारामा स्मार्ट एजुकेसन नामक स्टेसनरी पसल सुरु गरेका थिए । उक्त पसल अहिले उनका भाइ सन्तोषले चलाउँछन् । कृषि सम्बन्धि पनि काम गर्दै आएका पाठकले छोराहरूलाई काममा अभ्यस्त गराउँदै यस क्षेत्रका कफी पारखीको मागलाई ध्यान राख्दै कफी हाउस संचालनमा ल्याएको बताए ।





