भरतपुर, २३ पौष ।
भारत विरुद्ध जारी टेष्ट शृंखला (वर्डर गावाष्कर ट्रफी)को तेस्रो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले सुन्दर सुरुवात गरेको छ । सिड्नीमा बिहीबार टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको कंगारु टोलीले पहिलो दिनको खेलको समाप्तीमा २ विकेट गुमाएर १६६ रन जोडेको हो । वर्षा पटकपटक बाधक बनिदिँदा दिनमा जम्मा ५५ ओभरको खेल सम्भव भएको थियो ।
अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा डेब्यु खेल खेलिरहेका विल पुकोभस्कीले ६२ रनको योगदान गरे । अष्ट्रेलियाका लागि टेष्ट खेल्ने उनी ४६०औँ क्रिकेटर बने । तेस्रो क्रममा ब्याटिङ गर्न पुगेका मार्नस लेबुसेन ६७ रनमा खेलिरहेका छन् । उनलाई स्टिभ स्मीथले ३१ रनमा साथ दिइरहेका छन् । ओपनर डेविड वार्नर भने ५ रनमा आउट भए ।
भारतको तर्फबाट भने डेब्यु गरेका नवदीप सैनी र मोहम्मद सिराजले एकरएक विकेट लिएका छन् । चार म्याचको टेष्ट शृंखलामा दुवै टोलीले एक–एक खेल जितेका छन् ।





