भरतपुर, पटिहानी २३ पुस ।
नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ (ख) ले बुधबार अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा वर्तमान अवस्थामा नेपाली कांग्रेसको धारणा विषयक अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो । पश्चिम चितवनको पटिहानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाको सरकार आएपछि देश अस्थिरतातर्फ गएको बताएका छन् । जनताको यति धेरै सर्मथन प्राप्त पार्टी नेकपाले कहिल्यै केहि गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले विकासको हावा कुरा गरेको उनको भनाई थियो । `पहिले सुरु भएका फास्ट ट्र्याक, सुरुङ मार्ग, मेलम्ची जस्ता योजनाहरुलाई नेकपा सरकारले निरन्तरता मात्र दिएको हो´, पौडेलले भने- ओलीको रेल कता पुग्यो ?´ प्रधानमन्त्री ओलीले भ्रष्टचारीलाई कारबाही नगरी संरक्षण गरेको, संवैधानिक सर्वोच्चतालाई नमानेको, देश विरोधी र बिद्रोही काम गरेको नेता पौडेलको आरोप थियो । एकले अर्कोलाई आरोप लगाउने ओली, प्रचण्ड र माधब विचको वर्तमान लडाईँ पदको लागि मात्र भएको भन्दै यो चरित्रले राजनीति नगर्न आग्रह गरे । काम चलाउ प्रधानमन्त्रीले मन्त्रीमण्डल बिस्तार गर्न नपाउने भन्दै उनले ओली कार्यकारी भएकोले राजीनामा दिनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले कम्युनिष्टलाई सत्ता नपच्ने भन्दै केपी ओलीका कारण जनता सडकमा आएको बताउए । कांग्रेस नेकपाको विरुद्धमा नभइ सरकारका कदमका विरुद्धमा सडकमा आएको उनको भनाई थियो । सभापति श्रेष्ठले चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डलाई लखेट्ने तयारी भैरहेको बताए । गत स्थानीय निर्वाचनमा प्रचण्डले कांग्रेससँग १० वर्षको गठबन्धन गरेर सोझो सभापतिलाई भ्रममा पारेको बताए । कांग्रेस कसैसँग नटाँसिने भन्दै सभापति श्रेष्ठले कांग्रेस एक ढिक्का भएकोमा भ्रममा नपर्न आग्रह गरे । कांग्रेसलाई शत्रु ठान्नेहरु आफै समाप्त हुने उनको भनाई थियो । चुनाव गराएर कांग्रेसलाई ठुलो पार्टी बनाउन नचाहेका कारण ओलीले चुनाब नगराउने भन्दै अधिनायकबादी शैलीमा विद्या भण्डारी राष्ट्रपति र आफु प्रधानमन्त्री बनिरहन संसद विघटन गराएको सभापति श्रेष्ठको आरोप थियो । कार्यक्रममा कांग्रेस चितवन जिल्ला निवर्तामान सभापति टेकप्रसाद गुरुङले आफुले बनाएको संविधानको रक्षा गर्नु र असंवैधानिक कदमको विरोध गर्नु अहिलेको आवश्यकता भएको औँल्याए । कार्यक्रम नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ (ख) का सभापति लालबहादुर दवाडीको सभापतित्वमा सम्पन्न भएको थियो ।





