गैँडाकोट, २० मंसिर ।
नारायणी सामुदायिक वन उपभोक्ता समूह ६, ७ र ९ को ८औं साधारणसभा तथा गरिव विपन्न बालमैत्री विद्यालय भवन र गरिब विपन्न घर हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर -६ मा रहेको सिर्जनशील प्राथमिक विद्यालय गरिव तथा विपन्न बालबालिकाहरुले अध्ययन गर्ने विद्यालय भएका कारण नारायणी सामुदाायिक वन उपभोक्ता समूहले गरिब तथा बिपन्न जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत श्री सिर्जनशील प्राथमिक विद्यालयलाई मर्मत गरि हस्तान्तरण गरिएको हो ।साढे चार लाखमा निर्माण सम्पन्न गरिएको गरिब विपन्न अन्तर्गतको दुईकोठे घर नारायणी सामुदायिक वन उपभोक्ता समूहका वनरक्षक सोमबाहादुर कुमाललाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले सामुदायिक वनले सञ्चालन गर्ने कार्यक्रमहरु सहि अर्थले सञ्चालन गर्ने हो भने कार्यक्रम प्रभावकारी बन्नसक्ने बताए । पौडेलले बालबालिकाको शिक्षाका लागि नारायणी वनले गरेको कार्यक्रम राम्रो रहेको र कार्यक्रम संचालन गर्दा सबै उपभोक्ताको चाहना, सल्लाह सुझाव, प्रतिकृया अनुसार सबैका कुराहरु समेटेर अगाडि बढन पनि आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटाले स्थानीय वन नीति आवश्यक रहेको र स्थानीय वन नीति बनेको खण्डमा सबै कुरा समेट्न सजिलो हुने तर्क राखे । `कुन सामुदायिक वनमा के काम गर्न सकिन्छ, पर्यापर्यटन कसरी विकास गर्न सकिन्छ, कुन सामुदायिक वनको भौगोलिक वनावट कस्तो छ जस्ता कुराहरु समेटन सकिन्छ ।´, सापकोटाले बताए ।
सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङले नारायणी वनले आफना उपभोक्ताका लागि गरेका कार्यहरुले उपभोक्ताको जीवनमा परिवर्तन आउन सकेका कारण आफ्ना कार्यक्रमहरु उपभोक्ताको चाहना अनुसार गर्न सुझाव दिए ।
कर्यक्रमका विशिष्ट अतिथि उद्योग वाणिज्य संघ कार्यकारिणी सदस्य अमृत भट्टचनले सामुदायिक वनमा काठ वितरणका क्रममा आउने गुनासोलाई मध्यनजर राख्दै सबै उपभोक्ताहरुलाई भेदभाव नगरि निष्पक्ष रुपमा काठ वितरण गर्ने आग्रह गरे ।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रेमप्रसाद सापकोटा, कलाधर आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आर्थिक वर्ष २०७६/०७७ को प्रगति विवरण तथा ०७७/०७८का लागि प्रस्तावित वार्षिक कार्यविवरण सचिव उमाकुमारी पाण्डेले प्रस्तुत गरेका थिए । १ करोड १५ लाख १६ हजार १ सय अन्ठाउन्न रुपैयाँको आयव्यय प्रस्तुत गर्दै कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष नेत्रराज सापकोटाले प्रस्तुत गरेका थिए ।
नारायणी सामुदायिक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०७६/०७७ मा गरिव विपन्नका लागि १५ जनालाई बाख्रा वितरण, समूहको वन क्षेत्रभित्र आम्दानीको स्रोतका लागि खाली ठाउँमा तीन सय कागतीको बिरुवा रोप्ने कार्य, गरिव विपन्नका लागि २ वटा घर निर्माण र एक वटा घर निर्माणाधिन अवस्थामा रहेको नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनानाथ त्रिपाठीले जानकारी दिए । आगामी दिनमा पनि उपभोक्ताको चाहाना अनुसार अगाडि बढ्दै जाने उनले बताए ।
कर्यक्रममा अग्निनियन्त्रण व्यस्थापनमा राम्रो काम गरेबापत यादव वन सन्यासी, दलबहादुर परियार, दीपक सापकोटा, अर्जुन भण्डारी, जिमी गुरुङलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।
१हजार २ सय ७० उपभोक्ता घरधुरी सदस्य रहेको यस सामुदायिक वनले मंसिर १५ गतेदेखि १८ गतेसम्म घरदैलो गरेर उपभोक्ताका सल्लाह सुझाव संकलन गरेको थियो । उपाध्यक्ष वेदप्रसाद चालिसेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण वनकी सचिव उमाकुमारी पाण्डेले गरिन् । नारायणी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रफल ४६६.०२ हेक्टर रहेको छ ।





