चितवन, २० मंसिर ।
खैरहनी नगरपालिकाले माटो परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विश्व माटो दिवसको अवसर पारेर शनिबार प्रयोगशालाको उद्घाटन गरिएको हो । जिल्लामा स्थानीय पालिका आफैले सञ्चालनमा ल्याएको यो प्रयोगशाला पहिलो हो ।
प्रयोगशालाको उद्घाटन जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले गरेका थिए । त्यसपछि नगर प्रमुख लालमणि चौधरीले माटो प्रयोगशाला टेक्निसियनलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा समन्वय समिति प्रमुख डल्लाकोटीले माटोको उर्वराशक्ति नाश भइरहेका बेला स्थापना गरिएको प्रयोगशालाले कृषकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । “रासायनिक मलका कारण माटोको उर्वराशक्ति घट्दै गएको छ”, जिसस प्रमुख डल्लाकोटिले भने, “माटोको अवस्था बिग्रँदै जाँदा उत्पादन पनि घटिरहेको छ । सुधारका लागि माटो परीक्षण आवश्यक देखिएको छ ।”
समन्वय समिति प्रमुख डल्लाकोटीले नेपाल कृषिमै आधारित रहेकाले स्थानीय तहले पनि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै, नगर प्रमुख लालमणि चौधरीले वर्षौँदेखि माटो परीक्षण नगरी खेती गर्दा उर्वराशक्ति घट्दै गएको बताए । “माटोको गुण घट्दै छ”, नगर प्रमुख चौधरीले भने, “वडास्तरदेखि नै माटो परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।” प्रयोगशालामा माटोमा हुने नाइट्रोजन, फस्फोरस, पोटास, जस्ता तत्त्वको मात्रा र माटोको बनौट सम्बन्धी परीक्षण हुने नगरपालिका कृषि शाखाका प्रमुख कृषि अधिकृत दीपेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार प्रयोगशालामा डिजिटल मिटर, फ्लेम फोटोमिटर, इनकुभेटर, डवल विम स्पेक्टोफोटोमिटर लगायत उपकरण जडान गरिएका छन् ।
प्रयोगशालामा खैरहनी नगरपालिकासँगै अन्य स्थानीय तहका कृषकले पनि माटो परीक्षण गराउन सक्ने कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले बताए । प्रयोगशालाका लागि खैरहनी नगरपालिकाले नै ल्याव टेक्निसियनमा मनिष पौडेललाई नियुक्त गरेको छ ।





