पत्रकारिताको क्षेत्रमा रहेका विकृतिहरूलाई ‘मोसो’को प्रहार

भरतपुर, २० मंसिर ।
पत्रकार सूर्यप्रकाश कँडेलद्वारा लिखित `मोसो´ उपन्यास पाठकहरूका लागि उपलब्ध भएको छ । उक्त उपन्यासको शनिबार वरिष्ठ पत्रकार तथा साहित्यकार रेशम विरही र लेखकका पिता डिलाराम कँडेलबाट संयुक्त रूपमा विमोचन गरिएको हो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा आयोजित कार्यक्रममा लेखक कँडेलले उपन्यास पत्रकारिता क्षेत्रमा व्याप्त विकृतिका बारेमा भएको जानकारी दिए । “पत्रकारितालाई सम्मानजनक पेशा बनाई समाचार लेखेरै श्रमजीवी पत्रकार बाँच्न सकोस् भन्ने मेरो चाहना छ”, उनले भने, “पैसा आर्जन गर्न पत्रकारले चाल्ने गलत तथा अनैतिक कार्यलाई उपन्यासमार्फत प्रहार गर्न खोजेको छु ।” समाजका विकृतिबारे पत्रकारले लेख्छन् तर पत्रकारितामै भएको विकृति कसले लेख्ने भन्ने विचार उब्जिन पुग्दा मोसो लेख्ने इच्छा जागेको उनले सुनाए । धनसम्पत्तीका विषयमा समाजले निर्माण गरेको दृष्टिकोणले गर्दा कतिपय पत्रकारहरू आफ्नो कर्तव्यबाट च्यूत हुन पुगेको उनको भनाइ थियो । “मलाई धेरैले पटकपटक यस्तो पनि प्रश्न सोधे – तपाइँपछि आएका पत्रकारले कार चढिसके, तपाइँ अझै पुरानै मोटरसाइकलमा ?”, कँडेलले सुनाए, “समाजमा रहेका खराब तत्त्वको भण्डाफोर गर्नुपर्नेमा कतिपय पत्रकारहरूले उनै तत्त्वसँग सम्झौता गरेर हिँड्ने गरेका छन् । यो तिनैप्रति प्रहार गरिएको झटारो हो ।”

विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै समीक्षक उदय अधिकारीले पत्रकारिता र साहित्य एकअर्कासँग सम्बन्धित रहने गरेको बताए । पत्रकारहरूले साहित्यिक कृति प्रकाशन गर्ने काम नौलो नभएको बताउँदै अधिकारीले मोसो प्रमुख उद्देश्यका साथ लेखिएको पठनीय उपन्यास रहेको उल्लेख गरे । “उपन्यासमा खराब र असल पक्षबीचको द्वन्द्वलाई चित्रण गरिएको छ”, मोसोमाथि टिप्पणी गर्ने क्रममा उनले भने, “आफूले भोगेका र देखेका कुरालाई लेखकले सर्लक्क र प्रसंगसहित व्याख्या गरेका छन् ।”

यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिष्ठ पत्रकार तथा साहित्यकार रेशम विरहीले पत्रकारले सामाजिक विकृति उजागर गर्ने मात्र नभएर त्यसलाई लुकाउने जस्तो काम समेत गर्न थालेको बताएका थिए । पुस्तकको चर्चा गर्ने क्रममा पत्रकार महासंघ चितवन जिल्ला समितिका अध्यक्ष राधेश्याम खतिवडा, साहित्यकार गोविन्दराज विनोदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय कृष्ण गिरी र सृजना अर्याल एवम् नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्यले लेखकलाई सफलताका लागि शुभेच्छा प्रकट गरेका थिए ।

२३० पृष्ठसंख्या रहेको उपन्यासलाई युरेका पब्लिकेसनले प्रकाशन गरेको हो । पाठक मूल्य ३८५ रुपैयाँ रहेको सो उपन्यासको वितरक भने सम्पूर्ण किताब रहेको छ ।

चितवनमा रहेर दुई दशकभन्दा बढी पत्रकारिताका क्षेत्रमा कलम चलाएका पत्रकार सूर्यप्रकाश कँडेलले विभिन्न राष्ट्रिय दैनिकमा समेत संवाददाताका रूपमा काम गरिसकेका छन् । उनी पत्रकार महासंघ जिल्ला कार्यसमिति चितवनको सल्लाहकार समेत हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट