चितवन, १७ मंसिर
विश्वव्यापी महामारी कोभिड–१९ को बेला सबैले दुःख पाए । कामविहीन बने, घरै बसे । स्वास्थ्यावस्था खराब हुने र नियमति औषधि खानुपर्नेले त झनै दुःख पाउने नै भए । यस्तै दुःख खेप्नेहरू थिए एचआईभी संक्रमितहरू पनि ।
चितवनमा यो वर्ष एचआईभीका ६७ जना नयाँ संक्रमित फेला परे । भरतपुर अस्पतालको एआरटी सेन्टरमा सन् २०२० को १० महिनामा ६ हजार ७ सय ६ जनाको परीक्षण गर्दा ६७ जना नयाँ बिरामी फेला परेका हुन् । चितवनमा हालसम्म संक्रमितको संख्या १ हजार ८ सय ९३ जना छन् ।
यही अवधिमा एचआईभीविरुद्धको औषधि सुरु गर्ने बिरामी १ सय १६ जना छन् । ४० जना अन्य जिल्लाबाट स्थानान्तरण भएका हुन् । एआरभी औषधि खाने कुल बिरामीको संख्या ९ सय छ ।
एचआईभी संक्रमित भइसकेपछि भाइरस फैलिन नदिन नियमित ‘एआरभी’ औषधि दिने गरिन्छ । तर, कोरोना भाइरसका कारण नियमति अस्पताल जान नपाउने बेला वा नसकिने बेला उनीहरूलाई घरमै औषधि पु¥याउने व्यवस्था पनि गरियो । भरतपुर अस्पताल एआरटी सेन्टरका स्रोत व्यक्ति डा. युवानिधि बसौलाले लकडाउनका बेलासमेत संक्रमितलाई घरदैलोमै पुगेर एआरटी सेवा दिइएको बताए । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालयले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पु¥याउँदै आएको हो ।
यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार १ सय ४४ जना रहेका छन्, जसमध्ये ४५ जना बालवालिका छन् । औषधि सेवन गर्दै आएकामध्ये ३० प्रतिशतले अस्पतालमै आएर औषधि लैजाने गरेका र बाँकी ७० प्रतिशतलाई घरमै पु¥याउने व्यवस्था गरिएको एड्स हेल्थ केयर फाउण्डेसन (ए एचएफ) नेपालको भरतपुर अस्पतालमा सञ्चालित परियोजनाका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए । एआरभी औषधि, मास्क, स्यानिटाइजर, पोषण लिएर स्वयंसेवक घरदैलोमै पुगेका थिए । १२ जनाले एआरभी औषधि लिनै छाडेको उनले बताए ।
उनका अनुसार भरतपुर महानगरपालिका र आसपासका पालिकाहरूबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयले नै पु¥याइएको हो ।
यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्बिनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । यस कार्यालयले चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गोरखा, लम्जुङ, तनहुँ र धादिङका संक्रमितहरूलाई घरमा नै औषधि पु¥याएको थियो । नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पु¥याइँदै आइएको उनले जानकारी दिए ।
चितवनमा ८ जिल्लाका संक्रमितले एआरटी सेवा लिने गर्छन् । भरतपुर अस्पतालका कोभिड क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले एचआईभी संक्रमित कोरोनाको उच्च जोखिममा रहेकाले नियमित एआरभी औषधि लिन र नियमित चेकजाँच गर्न आग्रह गरे । चितवनमा ३ जना एचआईभी संक्रमितलाई कोरोना संक्रमण भएको थियो ।
सापकोटाका अनुसार १० महिनामा १६ जना संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा १० पुरुष र ६ महिला छन् । एक जना संक्रमितको कोरोनाका कारण ज्यान गएको थियो । सापकोटाले १० महिनामा ६ सय ९३ जनाको भाइरल लोड परीक्षण गरिएको थियो । जसमध्ये ५ सय ४४ जनाको परीक्षण लडाउनकै बेलामा गरिएको थियो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले एचआईभी संक्रमित पहिचान तथा उपचारलाई अस्पतालले उच्च प्राथमिकता दिएको बताए । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले चितवनमै भाइरल लोड परीक्षण गर्ने मेसिन ल्याउन पहल गरिने बताए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चितवनका २५ वटा सरकारी स्वास्थ्य संस्थाबाट एचआईभी एड्स परीक्षण तथा सेवा दिँदै आइरहेको जानकारी दिए ।
चितवन एचआईभी संक्रमितको उपचार धेरै हुने देशकै ५ औं जिल्ला हो । एचआईभीको सम्भावित जोखिम समूहमा रहेकाले पिईपी औषधि लिन सक्ने छन् । बलात्कार वा अन्य असुरक्षित यौनसम्पर्कका कारण हुन सक्ने जोखिम कम गर्न ७२ घण्टाभित्र पीईपी औषधि लिन सुरु गर्नुपर्नेछ । यो औषधि २८ दिनसम्म सेवन गरे जोखिम कम गर्न सकिन्छ ।
चितवनमा पिईपी लिनेको संख्या १२ रहेको छ । चितवनमा एचआईभी संक्रमित भएका ३ सय ४२ जनाले स्वास्थ्य बीमा गरेका छन् । देशभर सिडिफोर काउण्ट गर्ने ३३ वटा र भाइरल लोड परीक्षण गर्ने ८ ठाउँ छन् । देशभरी एआरटी सेन्टर ७८ वटा छन् । चितवनमा सन् २०११ देखि सन् २०२२ मार्चसम्म एएचएफ नेपालको परियोजन सञ्चालित छ ।
अझै खुल्दैनन् संक्रमित
मानव शरीरमा हुने अनेक संक्रमणमध्ये एचआईभी पनि एउटा संक्रमण हो भन्ने सोचको विकास अझै आमरुपमा हुन सकेको छैन । संक्रमितलाई गरिने व्यवहार परिवर्तनका लागि कैयौँ संस्थाहरूले अनेक प्रयास गरे पनि त्यो सम्भव भएको छैन । अझै पनि संक्रमितलाई समाजमा खुल्ने वातावरण नै नभएको यस क्षेत्रमा काम गर्नेहरू बताउँछन् । आफू संक्रमित भए पनि उनीहरू सार्वजनिक हुन चाहेका
छैनन् । चितवनमा ९५ प्रतिशत एचआईभी संक्रमित समाजमा खुल्न चाहदैनन् । सामाजिक डरका कारण उनीहरू नखुलेको यसमा कार्यरत संस्थाका अगुवाहरू बताउँछन् ।
संक्रमितहरू अस्पतालमा सेवा लिन गोप्य रुपमा जाने गरेका छन् । समाजमा हुने भेदभावले उनीहरू खुल्न डराएको यसै क्षेत्रमा लामो समयदेखि क्रियाशील चितवन सक्रिय महिला प्रतिष्ठानमा कार्यरत चन्द्रा आचार्यले बताइन् । आचार्य पनि संक्रमित हुन् । सबैले परामर्श गरेर आफू समाजमा खुलेपनि अहिले पछुतो भएको गुनासो गरिन् । “पहिला त खुलें तर अहिले पछुतो भएको छ”, उनले भनिन्, “सामाजको संकीर्ण सोचाइले बालबालिकामा असर देखिने रै’छ ।”
उनले कामको सिलसिलामा विभिन्न स्थानका संक्रमितलाई भेट्ने गरेकी छन् । उनका अनुसार संक्रमितहरू बाहिर खुले पनि उनीहरूको बच्चालाई गरिने व्यवहार नकारात्मक हुने गरेको संक्रमितको गुनासो छ । सेवा लिन गए पनि गोपनियताको डर मान्ने गरेको सेवा प्रदायकहरू बताउँछन् । संक्रमितलाई परामर्श र विभिन्न सेवा दिन घरमा जाँदा पनि छिमेकीले भिन्दै तरिकाले हेर्ने गरेको यस क्षेत्रमा क्रियाशील कोपिला भण्डारीले बताइन् । निकै चुनौतीपूर्ण अवस्थामा भण्डारी पनि संक्रमित भनेर खुलेकी थिइन् । अहिले उनी पनि एचआईभीको क्षेत्रमा कार्यरत छिन् । नियमित सेवाका लागि घरमै जाँदा संक्रमितले छिमेकीको डर मान्ने गरेको उनले बताइन् ।
आजभोलि संक्रमितहरू खुलेर के पाइन्छ र भन्न थालेका छन् । कतिपयलाई पछुतो लागेको छ । सरकारले लिने सेवा सुविधासमेत कटौती भएपछि उनीहरू निराश बनेका छन् । समाजमा यौन सम्पर्कबाट मात्रै एचआईभी सर्छ भन्ने गलत सोचाइले संक्रमितहरूमाथि गलत नजरले हेर्ने गरेको उनको भनाइ छ । “सुविधा हुँदा खुलेका थिए”, भण्डारीले भनिन्, “अहिले खुलेर के पाइन्छ र भन्छन् ।”
संक्रमितको कार्यक्रमका लागि सरकार नै उदासिन रहेको कतिपय बताउँछन् । दातृ निकायको भरमा सरकार पर्ने गरेको छ । आएको बजेटमा समेत पारदर्शीताको अभाव छ ।
अहिले पनि एचआईभीको लागि भनेर परीक्षण गर्न अप्ठेरो मान्ने प्रवृत्ति कायमै छ । भरतपुर अस्पतालले प्रसूती र शल्यक्रिया गराउँदा अनिवार्य एचआईभी परीक्षण गराउनुपर्ने नियम राखेको छ । जोखिममा रहेकाहरू समेत रगत परीक्षणका लागि आनाकानी गर्ने गरेका छन् ।
यस्तै असमानता र अप्ठ्यारो हटाउने प्रयास स्वरुप नै हरेक वर्ष डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाउने गरिएको छ । सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परे थियो । सन् २०२० को अन्त्यसम्ममा ७ करोड ९३ लाख एचआईभी संक्रमित भइसकेका छन् । एड्सका कारण हालसम्म ३ करोड व्यक्तिको मृत्यु भइसकेको छ ।
सन् २०२० मा विश्वभर १५ लाख नयाँ संक्रमित थपिएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको उल्लेख गरिएको छ । सन् २०१० मा २१ लाख नयाँ संक्रमित थपिएको थियो । यस्तै पछिल्लो तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार ३०० रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब १० हजार संक्रमितहरू खुल्न सकेका छैनन् ।
ठूलो संख्यामा संक्रमितहरू लुकेर बस्दै आएका छन् । जसले गर्दा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने नेपालको लक्ष्य पूरा हुन नसक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
नेपालमा एचआईभी संक्रमणको उच्च जोखिम समूहहरू सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मीहरू, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू र रोजगारीका लागि विदेशिएकाहरू भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले बताए ।
‘यी जोखिम समूहमध्ये पनि सुईद्वारा लागूपदार्थ लिने र पुरुष समलिंगी यौनकर्मीहरूमा संक्रमणदर अरु जोखिम समूहमा भन्दा उच्च देखिएको छ’, डा. साहले भने, ‘एउटा सर्वेक्षण हेर्ने हो भने नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरूमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७ मा भएको अर्को सर्वेक्षणले महिला यौनकर्मीहरूमा २.२ प्रतिशत, पुरुष समलिंगीहरूमा ६.२ प्रतिशतका दरले संक्रमण भएको देखाएको थियो ।’





