महामारीमा एचआईभी संक्रमितलाई घरघरै औषधि

चितवन, १७ मंसिर
विश्वव्यापी महामारी कोभिड–१९ को बेला सबैले दुःख पाए । कामविहीन बने, घरै बसे । स्वास्थ्यावस्था खराब हुने र नियमति औषधि खानुपर्नेले त झनै दुःख पाउने नै भए । यस्तै दुःख खेप्नेहरू थिए एचआईभी संक्रमितहरू पनि ।

चितवनमा यो वर्ष एचआईभीका ६७ जना नयाँ संक्रमित फेला परे । भरतपुर अस्पतालको एआरटी सेन्टरमा सन् २०२० को १० महिनामा ६ हजार ७ सय ६ जनाको परीक्षण गर्दा ६७ जना नयाँ बिरामी फेला परेका हुन् । चितवनमा हालसम्म संक्रमितको संख्या १ हजार ८ सय ९३ जना छन् ।

यही अवधिमा एचआईभीविरुद्धको औषधि सुरु गर्ने बिरामी १ सय १६ जना छन् । ४० जना अन्य जिल्लाबाट स्थानान्तरण भएका हुन् । एआरभी औषधि खाने कुल बिरामीको संख्या ९ सय छ ।

एचआईभी संक्रमित भइसकेपछि भाइरस फैलिन नदिन नियमित ‘एआरभी’ औषधि दिने गरिन्छ । तर, कोरोना भाइरसका कारण नियमति अस्पताल जान नपाउने बेला वा नसकिने बेला उनीहरूलाई घरमै औषधि पु¥याउने व्यवस्था पनि गरियो । भरतपुर अस्पताल एआरटी सेन्टरका स्रोत व्यक्ति डा. युवानिधि बसौलाले लकडाउनका बेलासमेत संक्रमितलाई घरदैलोमै पुगेर एआरटी सेवा दिइएको बताए । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालयले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पु¥याउँदै आएको हो ।

यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार १ सय ४४ जना रहेका छन्, जसमध्ये ४५ जना बालवालिका छन् । औषधि सेवन गर्दै आएकामध्ये ३० प्रतिशतले अस्पतालमै आएर औषधि लैजाने गरेका र बाँकी ७० प्रतिशतलाई घरमै पु¥याउने व्यवस्था गरिएको एड्स हेल्थ केयर फाउण्डेसन (ए एचएफ) नेपालको भरतपुर अस्पतालमा सञ्चालित परियोजनाका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए । एआरभी औषधि, मास्क, स्यानिटाइजर, पोषण लिएर स्वयंसेवक घरदैलोमै पुगेका थिए । १२ जनाले एआरभी औषधि लिनै छाडेको उनले बताए ।

उनका अनुसार भरतपुर महानगरपालिका र आसपासका पालिकाहरूबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयले नै पु¥याइएको हो ।

यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्बिनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । यस कार्यालयले चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गोरखा, लम्जुङ, तनहुँ र धादिङका संक्रमितहरूलाई घरमा नै औषधि पु¥याएको थियो । नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पु¥याइँदै आइएको उनले जानकारी दिए ।

चितवनमा ८ जिल्लाका संक्रमितले एआरटी सेवा लिने गर्छन् । भरतपुर अस्पतालका कोभिड क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले एचआईभी संक्रमित कोरोनाको उच्च जोखिममा रहेकाले नियमित एआरभी औषधि लिन र नियमित चेकजाँच गर्न आग्रह गरे । चितवनमा ३ जना एचआईभी संक्रमितलाई कोरोना संक्रमण भएको थियो ।

सापकोटाका अनुसार १० महिनामा १६ जना संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा १० पुरुष र ६ महिला छन् । एक जना संक्रमितको कोरोनाका कारण ज्यान गएको थियो । सापकोटाले १० महिनामा ६ सय ९३ जनाको भाइरल लोड परीक्षण गरिएको थियो । जसमध्ये ५ सय ४४ जनाको परीक्षण लडाउनकै बेलामा गरिएको थियो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले एचआईभी संक्रमित पहिचान तथा उपचारलाई अस्पतालले उच्च प्राथमिकता दिएको बताए । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले चितवनमै भाइरल लोड परीक्षण गर्ने मेसिन ल्याउन पहल गरिने बताए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चितवनका २५ वटा सरकारी स्वास्थ्य संस्थाबाट एचआईभी एड्स परीक्षण तथा सेवा दिँदै आइरहेको जानकारी दिए ।

चितवन एचआईभी संक्रमितको उपचार धेरै हुने देशकै ५ औं जिल्ला हो । एचआईभीको सम्भावित जोखिम समूहमा रहेकाले पिईपी औषधि लिन सक्ने छन् । बलात्कार वा अन्य असुरक्षित यौनसम्पर्कका कारण हुन सक्ने जोखिम कम गर्न ७२ घण्टाभित्र पीईपी औषधि लिन सुरु गर्नुपर्नेछ । यो औषधि २८ दिनसम्म सेवन गरे जोखिम कम गर्न सकिन्छ ।

चितवनमा पिईपी लिनेको संख्या १२ रहेको छ । चितवनमा एचआईभी संक्रमित भएका ३ सय ४२ जनाले स्वास्थ्य बीमा गरेका छन् । देशभर सिडिफोर काउण्ट गर्ने ३३ वटा र भाइरल लोड परीक्षण गर्ने ८ ठाउँ छन् । देशभरी एआरटी सेन्टर ७८ वटा छन् । चितवनमा सन् २०११ देखि सन् २०२२ मार्चसम्म एएचएफ नेपालको परियोजन सञ्चालित छ ।

अझै खुल्दैनन् संक्रमित
मानव शरीरमा हुने अनेक संक्रमणमध्ये एचआईभी पनि एउटा संक्रमण हो भन्ने सोचको विकास अझै आमरुपमा हुन सकेको छैन । संक्रमितलाई गरिने व्यवहार परिवर्तनका लागि कैयौँ संस्थाहरूले अनेक प्रयास गरे पनि त्यो सम्भव भएको छैन । अझै पनि संक्रमितलाई समाजमा खुल्ने वातावरण नै नभएको यस क्षेत्रमा काम गर्नेहरू बताउँछन् । आफू संक्रमित भए पनि उनीहरू सार्वजनिक हुन चाहेका
छैनन् । चितवनमा ९५ प्रतिशत एचआईभी संक्रमित समाजमा खुल्न चाहदैनन् । सामाजिक डरका कारण उनीहरू नखुलेको यसमा कार्यरत संस्थाका अगुवाहरू बताउँछन् ।

संक्रमितहरू अस्पतालमा सेवा लिन गोप्य रुपमा जाने गरेका छन् । समाजमा हुने भेदभावले उनीहरू खुल्न डराएको यसै क्षेत्रमा लामो समयदेखि क्रियाशील चितवन सक्रिय महिला प्रतिष्ठानमा कार्यरत चन्द्रा आचार्यले बताइन् । आचार्य पनि संक्रमित हुन् । सबैले परामर्श गरेर आफू समाजमा खुलेपनि अहिले पछुतो भएको गुनासो गरिन् । “पहिला त खुलें तर अहिले पछुतो भएको छ”, उनले भनिन्, “सामाजको संकीर्ण सोचाइले बालबालिकामा असर देखिने रै’छ ।”

उनले कामको सिलसिलामा विभिन्न स्थानका संक्रमितलाई भेट्ने गरेकी छन् । उनका अनुसार संक्रमितहरू बाहिर खुले पनि उनीहरूको बच्चालाई गरिने व्यवहार नकारात्मक हुने गरेको संक्रमितको गुनासो छ । सेवा लिन गए पनि गोपनियताको डर मान्ने गरेको सेवा प्रदायकहरू बताउँछन् । संक्रमितलाई परामर्श र विभिन्न सेवा दिन घरमा जाँदा पनि छिमेकीले भिन्दै तरिकाले हेर्ने गरेको यस क्षेत्रमा क्रियाशील कोपिला भण्डारीले बताइन् । निकै चुनौतीपूर्ण अवस्थामा भण्डारी पनि संक्रमित भनेर खुलेकी थिइन् । अहिले उनी पनि एचआईभीको क्षेत्रमा कार्यरत छिन् । नियमित सेवाका लागि घरमै जाँदा संक्रमितले छिमेकीको डर मान्ने गरेको उनले बताइन् ।

आजभोलि संक्रमितहरू खुलेर के पाइन्छ र भन्न थालेका छन् । कतिपयलाई पछुतो लागेको छ । सरकारले लिने सेवा सुविधासमेत कटौती भएपछि उनीहरू निराश बनेका छन् । समाजमा यौन सम्पर्कबाट मात्रै एचआईभी सर्छ भन्ने गलत सोचाइले संक्रमितहरूमाथि गलत नजरले हेर्ने गरेको उनको भनाइ छ । “सुविधा हुँदा खुलेका थिए”, भण्डारीले भनिन्, “अहिले खुलेर के पाइन्छ र भन्छन् ।”

संक्रमितको कार्यक्रमका लागि सरकार नै उदासिन रहेको कतिपय बताउँछन् । दातृ निकायको भरमा सरकार पर्ने गरेको छ । आएको बजेटमा समेत पारदर्शीताको अभाव छ ।

अहिले पनि एचआईभीको लागि भनेर परीक्षण गर्न अप्ठेरो मान्ने प्रवृत्ति कायमै छ । भरतपुर अस्पतालले प्रसूती र शल्यक्रिया गराउँदा अनिवार्य एचआईभी परीक्षण गराउनुपर्ने नियम राखेको छ । जोखिममा रहेकाहरू समेत रगत परीक्षणका लागि आनाकानी गर्ने गरेका छन् ।

यस्तै असमानता र अप्ठ्यारो हटाउने प्रयास स्वरुप नै हरेक वर्ष डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाउने गरिएको छ । सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परे थियो । सन् २०२० को अन्त्यसम्ममा ७ करोड ९३ लाख एचआईभी संक्रमित भइसकेका छन् । एड्सका कारण हालसम्म ३ करोड व्यक्तिको मृत्यु भइसकेको छ ।

सन् २०२० मा विश्वभर १५ लाख नयाँ संक्रमित थपिएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको उल्लेख गरिएको छ । सन् २०१० मा २१ लाख नयाँ संक्रमित थपिएको थियो । यस्तै पछिल्लो तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार ३०० रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब १० हजार संक्रमितहरू खुल्न सकेका छैनन् ।

ठूलो संख्यामा संक्रमितहरू लुकेर बस्दै आएका छन् । जसले गर्दा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने नेपालको लक्ष्य पूरा हुन नसक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिम समूहहरू सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मीहरू, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू र रोजगारीका लागि विदेशिएकाहरू भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले बताए ।
‘यी जोखिम समूहमध्ये पनि सुईद्वारा लागूपदार्थ लिने र पुरुष समलिंगी यौनकर्मीहरूमा संक्रमणदर अरु जोखिम समूहमा भन्दा उच्च देखिएको छ’, डा. साहले भने, ‘एउटा सर्वेक्षण हेर्ने हो भने नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरूमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७ मा भएको अर्को सर्वेक्षणले महिला यौनकर्मीहरूमा २.२ प्रतिशत, पुरुष समलिंगीहरूमा ६.२ प्रतिशतका दरले संक्रमण भएको देखाएको थियो ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट