देवचुली, नवलपरासी १५ मंसिर ।
पूर्वपश्चिम राजमार्गको करिव करिव मध्य भागमा छ शाश्वतधाम । पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा अवस्थित शाश्वतधाम जिल्लाको मुख्य पर्यटकीय गन्तव्य हो ।
विशेषगरी आन्तरिक पर्यटकहरूको घुँइचो लाग्ने यो ठाउँ लकडाउन अबधिभर ७ महिनासम्म बन्द रह्यो । कोरोनाको डर सामान्य हुँदै गएपछि दशैंदेखि खुल्न थालेको शाश्वतधाममा पुनः चहलपहल बढ्न थालेको छ । दशैं, तिहारका बिदामा शाश्वतधाममा आन्तरिक पर्यटकको बाक्लो घुइँचो देखिएको छ । शाश्वतधाममा आएर फोटो खिच्ने र टिकटक भिडियो बनाउनेहरूले गर्दा यसको झनै प्रचारप्रसार भएको छ ।
शाश्वतधाम २०७३ फागुन २४ गतेदेखि सञ्चालनमा आएको हो । यहाँ खजुरावान शैलीमा बनेको आकर्षक बुट्टेदार इकाम्बरेश्वर शिव मन्दिर रहेको छ । मन्दिरलाई चारैतिरबाट तालले घेरेको छ ।
बद्री, केदार, हरिद्वार, मुक्तिनाथ र पशुपतिनाथजस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाएर बनाइएको यो ताललाई सर्वतीर्थ सरोबर ताल नाम दिइएको छ । यो मन्दिरभित्र अलग्गै संग्रहालय छ । शाश्वतधाम प्रवेशका लागि शुल्क नलागे पनि यो संग्रहालय अवलोकनका लागि एक सय रुपैयाँको टिकट लिनुपर्छ ।
सीजी औद्योगिक पार्कभित्र सात बिघा क्षेत्रफलमा फैलिएको शाश्वतधामको इकाम्बरेश्वर शिव मन्दिर प्रमुख आकर्षण मानिन्छ । रातिको समयमा यस खजुरावान शैलीको एउटै मन्दिरमा फरकफरक रंगहरु देखिन्छ । जसले सबैलाई आकर्षित गर्दछ ।
यो धाममा ४५ जनाका लागि आवासीय सुविधासहित योग तथा ध्यान केन्द्र समेत रहेको छ भने दक्षिणतर्फ आकर्षण बुद्ध मुर्ति खडा गरिएको छ ।
जगद्गुरु शंकराचार्यको निर्देशन बमोजिम निर्माण सम्पन्न गरिएको शाश्वतधाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पीपल, अशोकलगायत रूखका बिरुवा लगाइएको छ ।
शाश्वतधामबाट उत्तरतर्फ देवचुली डाँडा देखिन्छ । देवचुली डाँडा महाभारत पर्वतशृङ्खला कै उच्च भाग हो । देवचुली डाँडाबाट उत्तरमा सेता हिमशृङ्खला साथै कालीगण्डकी नदि, दक्षिणमा नारायणी नदिदेखि भारतको बिहारराज्य देख्न सकिन्छ । शाश्वतधामबाट करिव एक किलोमिटरको दूरीमा चितवन राष्ट्रिय निकुञ्ज पर्छ । जहाँ दिव्य मध्यवर्ती सामुदायिक वनमा गैंडा, मृग लगायतका जनावर हेर्न सकिन्छ ।




