चितवन, १५ मंसिर ।
विभिन्न बालीमा रोग देखिएपछि खैरहनी नगरपालिकाको कृषि शाखाले सोमवार स्थलगत अवलोकन गरेको छ । नगरपालिकाको वडा नं २ का विभिन्न स्थानमा लगाइएका तरकारी र मकैको कृषि विज्ञले अवलोकन गरी सुझाव समेत दिएका हुन् । विज्ञको टोलीले वडाभित्र लगाइएका आलु, काउली, सिमि, गोलभेंडा र मकैको अवलोकन गरेको थियो । अवलोकनका क्रममा आलु र गोलभेंडामा भाइरसजन्य रोग, काउलीमा कावागा ब्याक्टेरिया, सिमिमा डाउनी मिलड्यु नामक रोग र मकैमा फौजी किराको संक्रमण पहिचान गरिएको कृषि अधिकृत दिपेन्द्र अर्यालले जानकारी दिए ।
रोगको पहिचान पछि त्यसको निदानको उपाय समेत सुझाइएको अर्यालले बताए । अवलोकनमा वडा नं २ का अध्यक्ष टीकादत्त इटनी, कृषि अधिकृत अर्याल, प्राविधिक सहायक ध्रुव आचार्यसहित स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो । खैरहनीको वडा नं १, २, ४, ६, १० र ११ लाई तरकारी खेतीका लागि अब्बल मान्ने गरिएको छ ।





