काठमाडौँ, २ मंसिर ।
नेवार समुदायका केही समूहले आज मंगलबार पनि भाइटीका लगाउँदैछन् । सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा)का लागि मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ ।
आज बिहान केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायले भाइटीका लगाउन लागेका हुन् । तर, धेरैजसोले भने सोमबार नै भाइटीका लगाइसकेका छन् ।
भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्लै रहने भएको छ । मन्दिर बिहान ५ बजेदेखि नै खुला गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार पनि भाइटीका मान्नेहरूका दर्शनको व्यवस्था गरिएको बताए ।
बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।




