भरतपुर, २ मंसिर ।
तिहारमा एकै दिन देशभर ४२ वटा विपद्जन्य घटना भएका छन् । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३० कात्तिक बिहान १० बजेदेखि १ मंसिर बिहान १० बजेसम्म भएका घटनामा अधिकांश आगलागीका छन् । ४२ मध्ये ३९ वटा आगलागीका घटना रहेको प्राधिकरणले जनाएको छ ।
ती घटनामा १ जनाको मृत्यु हुनाको साथै ५ जना घाइते भएका छन् । जसबाट २ करोड ४६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिका २ थापागाउँमा मैनबत्तीबाट आगलागी हुँदा ७ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । आगो निभाउने क्रममा १ जना घाइते भएका छन् भने १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जनाइएको छ ।
यस्तै, कैलालीको बर्दगोरिया ४ नौनियास्थित एक गोठमा बालेको मैनबत्तीबाट अन्नपात, काठसमेत जलेर क्षति भएको छ भने आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।
सप्तरीको डाक्नेश्वरी ६ विष्णुपुरस्थित एक गोठमा बालेको धुरबाट आगलागी हुँदा खसरी र अन्नपात क्षति भएको छ भने आगो निभाउने क्रममा १ जना सामान्य घाइते भएका छन् ।
यस्तै, सोही अवधिमा उदयपुर, धनुषा, दोलाखा, सुनसरी, धनकुटा, रौतहट, सर्लाही, बझाङ, इलाम, पाँचथरलगायतका जिल्लामा पनि आगलागीका घटना भएका छन् ।





