चितवनका व्यवसायीसँग फिरौती लिने कथित ‘रअ का एजेन्ट’को योजना यसरी भयो असफल

विनोदबाबु रिजाल
भरतपुर, ११ साउन ।

चितवनका एक नाम चलेका व्यवसायीलाई धम्काउँदै २० लाख असुल्ने प्रयास गरेका धादिङका ४ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतीय गुप्तचर निकाय ‘रअ’ को ‘नेपाल एजेन्ट’ भएको दावी गर्दै गोलीले उडाउनेसम्मको धम्की दिने उनीहरुलाई चितवन प्रहरीले आइतबार काठमाडौंको बसपार्कस्थित सिस्नेरी गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो ।

“रअ’को नेपाल प्रतिनिधि भन्दै उद्योगी व्यवसायीसँग ठूलो रकम माग गर्ने गिरोहका मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरिएको छ”, चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने, “उनीहरुले गोली ठोक्न २० लाखको ‘सुपारी’ लिएको दावी गरेका छन् ।”
पक्राउ पर्नेमा मुख्य अभियुक्त धादिङ ज्वालामुखी गाउँपालिका–२ बस्ने ईश्वरी बस्नेत, सोही ठाउँका रोशन बस्नेत, मनोज श्रेष्ठ र ज्वालामुखी गाउँपालिका–१ का रामकृष्ण श्रेष्ठ छन् । उनीहरुलाई एसपी थापाको कमाण्डमा खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुले चितवनको एक उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिई ५० लाख रुपैयाँ रकम माग गरेका थिए । मागअनुसारको रकम नदिए अपहरण गर्ने, मार्ने जस्ता धम्की दिँदै आएका उनीहरुलाई प्रहरीले काठमाडौंबाटै सफल भएको हो ।
“१५ दिनदेखि फोन गरेर थर्काएका थिए”, एसपी थापाले भने, “शुक्रबारबाट एसएमएसमार्फत धम्की दिन थाले, आइतबार त प्रहरीको नियन्त्रणमा आइहाले ।”

उनीहरुले धम्काउने क्रममा तीन वटा फरक सिम प्रयोग गरी फोन तथा एसएमएस गरेका थिए । पक्राउ पर्नेलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट