भरतपुर, २९ कार्तिक ।
हिन्दू धर्मावलम्बीहरूका लागि दीपावली एउटा विशेष चाड हो । नेपाली समाजमा तिहारका रूपमा प्रख्यात यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्दछ । त्यस दिन हरेकले आआफ्ना घरआँगनमा बत्ती बालेर उनै धनकी देवी लक्ष्मीको आह्वान गर्ने गर्दछन् । दीपको आवली अर्थात् बत्तीको पंक्ती बनाएर उत्सव गरिने भएकाले पनि यस पर्वलाई दीपावली भन्ने गरिएको हो । यस दिन विगतमा माटोले बनाइएका दिया तथा पालामा तिलको तेल र बाती मोलेर बाल्ने गरिन्थ्यो । समयसँगै भने दीपावली गर्ने चलनमा पनि बदलाव आएको छ ।
पछिल्ला केही दशकसम्म मैनबत्तीले दियोको स्थान लिएका थिए । प्रविधिको थप विकाससँगै हाल भने घरहरूमा झल्लर, डिजे तथा डिस्को बत्ती बाल्ने चलन सुरु भएको छ । विद्युतबाट चल्ने यस प्रकारका बत्ती पाइन थालेपछि दियोमा घ्यू वा तिलको तेल मोलेर बालिने अभ्यास बिस्तारै हराउँदै जान थालेको छ । फेरि बजारमा माटाका दिया र पाला पाइने स्थान पनि सीमित बन्दै जाँदा यिनको लोकप्रियता झन् हराउँदै गएको छ ।
“तिलको तेल अथावा गाईको घ्यू मोलेको बत्ती बाल्नाले वातावरण शुद्ध हुन्छ”, नेपाल संस्कृत विश्वविद्यालयका सह प्राध्यापक पूर्णशंकर गौतमले बताए । शुद्ध घ्यू मोलेको बत्ती उपचारका लागि समेत प्रयोग हुने उनको भनाइ थियो । घ्यू बलेर उत्पन्न भएको धुँवा वातावरणलाई शुद्ध पार्नाका साथै विभिन्न रोगको निदानका लागि पनि उपयोगी हुने आयुर्वेद चिकित्सकहरूको बताउने गरेका छन् । “उज्यालो भनेको ज्ञानको प्रतीक पनि हो । दियो बाल्दा अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालोतिर गइन्छ भन्ने पनि दीपावलीको मूल मर्म हो”, सह प्राध्यापक गौतमले सुनाए । “भगवान् रामचन्द्रले रावणसँगको युद्धमा विजय प्राप्त गरेर फर्कँदा सोही खुशीयालीमा दीप बालिएको हुनाले यो पर्व आसुरी शक्तिको नाश र दैवी सम्पत्तिको जीत पनि हो”, उनले थपे ।
झलक्क हेर्दा राम्रो देखिने झल्लरबत्तीले वातावरण र मानव स्वास्थ्यमा पु¥याउने असरका बारेमा भने धेरै अनविज्ञ रहेका छौं । “झल्लर बत्ती किनेर जडान गर्नु मँहगो काम हो । करेण्ट लाग्ने सम्भावना पनि रहन्छ । त्योसँगै जथाभावी झल्लर टाँग्नाले पर्यावरणलाई समेत असर पारिरहेको हुन्छ”, वातावरणविद् सुशीला रेग्मीले बताइन् । झल्लर बत्तीको अत्यधिक प्रयोगले किराफट्यांग्रा जम्मा पार्ने र चहकिलो प्रकाशका कारण अन्य जीवजन्तुलाई पनि समस्या पर्ने हुनसक्छ । उनी थप्छिन्, “झल्लर बत्तीको जथाभावी प्रयोग गर्दा प्रकाशको प्रदूषण हुने गर्दछ ।” फेरि मैनबत्ती बाल्दा हानिकारक ग्याँसको उत्सर्जन हुने हुँदा त्यसले मानिसको स्वास्थ्यमा पनि प्रतिकूल असर पार्न सक्ने पनि वातावरणविद् रेग्मीले बताइन् । प्रकाश प्रदूषणका कारण समयमा निद्रा नलाग्ने, रिस उठ्ने वा झर्काे लाग्ने जस्ता समस्या पनि देखिन सक्नेतर्फ चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मनोरोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेले सचेत गराए ।




